४ जेष्ठ २०८१, शुक्रबार

विरोधीलार्इ अनुशासनको कारबाही गर्ने देउवाको तयारी


deuwaa

११ वैशाख, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू विरोधी गतिविधि गर्ने र अभिव्यक्ति दिने नेताहरुलाई अनुशासनको कारबाही गरेर तह लगाउने तयारी थालेका छन् ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुले देउवाको बारेमा कडा आलोचना गरिरहेको बेला सभापति देउवाले आज आफू निकटका नेताहरुसँग छलफल गरेर आफ्नो विरोध गर्नेहरुलाई र जथाभावी बोल्नेलाई अनुशासनको कारबाही गरेर ठेगान लगाउने बताएका छन् ।

आफू निकटका नेताहरुसँग देउवाले भनेको कुरा उल्लेख गर्दै एक नेताले भने,‘केही नेताहरुले मेरो विरुद्ध जेहाद छेड्छु भनेका छन्, जथाभावी बोलेर पार्टीको अनुशासनको घेरा नाघेका छन्, म तीनीहरुलाई कुनैपनि हालतमा छोड्दिन, अनुशासनको कारबाही गर्छु, हद गर्न थाले भने म निलम्बनसम्म गर्न सक्छु, तपाईहरु त्यही अनुसार तयारी गर्नुहोला ।’

उनले विरोधका नाममा केही नेताहरुले गुटमार्फत आफूलाई पेल्न थालेकोले अब आफू सहनसक्ने अवस्थामा नरहेको धारणा राखेका छन् । त्यस्तै उनले भातृ संगठनका प्रमुखहरुलाईपनि अनुशासनको दायराभित्र बस्न चेतावनी दिएका छन् ।

नेता खुमबहादुर खड्काको निधनसँगै उनी समूहका नेताहरुपनि यतिवेला देउवा क्याम्पमा पुगेका छन् । उनीहरुले देउवालाई साथ दिने बचन दिएसँगै देउवा यतिवेला रामचन्द्र पौडेल समूहसँग रुष्ट बनेका छन् ।

तर, नेताहरु कृष्ण प्रसाद सिटौला, कुलबहादुर गुरुङ र अर्जुननरसिंह केसीले यतिवेला देउवाको क्याम्प छोडेर रामचन्द्र पौडेल कित्तामा पुगेका छन् ।

देउवाले रिक्त रहेका पदाधिकारीहरुमा आफू निकटका नेताहरुलाई मनोनित गरेर पौडेल समूहलाई तह लगाउने तयारी थालेको सूत्रहरुले बताएका छन् ।-रिपोर्टर्स नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !