२० असार २०८१, बिहिबार

प्रम भारत भ्रमण : वीरगञ्ज–रक्सौलमा एकीकृत जाँच चौकी आईसीपीको संयुक्त उद्घाटन


२४ चैत, काठमाण्डाै । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल भारत–सीमामा रहेको वीरगञ्ज–रक्सौलमा एकीकृत जाँच चौकी आईसीपीको संयुक्त उद्घाटन गर्नुभएको छ ।

भारतले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको हो । यो जाँच चौकी वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा बनेको छ ।

आईसीपीमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य जाँच हुनेछ ।

यसैगरी, मोतिहारी–वीरगञ्ज पेट्रोलियम पाइपलाइनको पनि हैदराबाद हाउसबाट संयुक्त रुपमा रिमोट थिचेर शिलान्यास गरिएको छ । बहुचर्चित अरुण तेस्रो जलविद्युत परियोजनाको पनि उद्घाटन हुने अपेक्षा गरिएको थियो, तर, यसको उद्घाटन भने हुन सकेन । नेपालको तर्फबाट आवश्यक तयारी नपुगेकाले अरुण तेस्रो आयोजनाको सयुक्त उद्घाटन हुन नसकेको हो ।

आपसी भेटवार्तापछि हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आपूm २१ औं शताब्दीको यथार्थका आधारमा दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले भारतको भ्रमण गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच अहिलेसम्म भएको सन्धि–सम्झौताको पुनरावलोकनका लागि प्रबुद्ध व्यक्ति समूह सम्मिलित टोली– इपिजीको गठन भएको र यसकै सुझावका आधारमा ती सन्धि–सम्झौताको नविकरण गर्न तयार रहेको बताउनुभयो ।

यसैगरी सडक, रेल तथा जलमार्ग तीनै माध्यमबाट भारतसँग जोडिएर देश विकासमा फड्को मार्ने आफ्नो चाहनालाई भारतसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

आर्थिक विकासका लागि संक्रमणकालिन अवस्थाबाट माथि उठ्न नेपाल र भारतबीच सहयोग र सहकार्य आवश्यक रहेको ओलीले बताउनुभयो । उहाँले खासगरी जलविद्युत र ऊर्जाका क्षेत्रमा भारतले नेपालमा लगानी गर्न सक्ने उल्लेख गर्नुभयो ।

पञ्चेश्वर, अरुण तेस्रो, माथिल्लो कर्णालीजस्ता परियोजनामा भारतले सहकार्य गरेर दुई मुलुकले नमूना सम्बन्ध विकास गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनै तहका चुनाव सफलतापूर्वक सम्पन्न गरिसकेपछि नेपाल राजनीतिक युगको नयाँ अध्यायमा प्रवेश गरेको र अब स्थिरतासँगै विकासमा अघि बढ्नु पर्ने भनाई राख्नुभयो ।

काठमाडौं–भारत सिधा रेल सञ्जालको निर्माण, हुलाकी राजमार्ग निर्माणमा तिब्रताका साथै नेपाललाई समुद्रसम्मको पहुँचका विषयमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच सहमति भएको छ ।
कृषिका क्षेत्रमा नयाँ साझेदारीको सुरुवात गर्नको लागि अर्गानिक खेती, पशुपालन, कृषि अनुसन्धानमा भारतले सहयोग बढाउने भारतीय प्रधानमन्त्री मोदीले घोषणा गर्नुभएको छ । दुई देशबीच भएको खुला सीमाको दुरुपयोग रोक्न सीमा क्षेत्रको नियमनमा गृहकार्य भइरहेको मोदीको भनाई थियो ।

भारतले निकट छिमेकी नेपाललाई सुखी र स्थिर रहँदै समृद्धितर्फ अघि बढेको देख्न चाहेकाले नेपालको विकासमा साझेदारी गर्न भारत सधैं तत्पर रहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !