१९ चैत, काठमाण्डाै । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वर्तमान सरकार गठबन्धनको सरकार नभै अबको केही दिनमै एउटै पार्टीको बहुमतको सरकारमा परिणत हुने बताउनुभएको छ ।
वैशाख ९ गते भित्र एमाले र माओवादी पार्टीबीचको एकताले औपचारिकता पाउने भन्दै मन्त्री बस्नेतले त्यसपछि बर्तमान सरकार बहुमतको सरकार बन्ने प्रस्ट पार्नुभयो । दुवै पार्टी एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलका सदस्यसमेत रहेका मन्त्री बस्नेतले विभिन्न ढंगले छलफल र संवाद चलिरहेको भए पनि वैशाख ९ भित्र जसरी एकताले मूर्त रुप लिने दावी गर्नुभयो ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले वन वातावरणलाई विकासको वाधक नभई समृद्धिको आधार बनाइने बताउनुभयो । विकासको वाधकको रुपमा वन र वातावरणलाई अपजस देखाउने कार्य भइरहेको भन्दै उहाँले विकासको वाधक हुन नदिने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
मुलुकको ४५ प्रतिशत भूभाग वन क्षेत्रले ढाकेको भए पनि यसबाट देशले कुनै फाइदा लिन नसकेको बताउनुभयो । संरक्षण र उपयोगको सन्तुलन मिलाएर वनबाट मुलुकको कूल जीडीपीमा प्रत्यक्ष योगदान देखिने गरी काम गर्ने पनि उहाँले बताउनुभयो ।
बढ्दो प्रदुषण रोक्न काठमाडौंको रिंङरोड सडकका दुवैतर्फ, भक्तपुरको ६ लेन सडकको दुवैतर्फ बोटविरुवा हुर्काइने र सडक आकर्षक बनाउन खाली क्षेत्रमा फूल रोप्ने योजना अगाडी बढाउन लागिएको पनि जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले संवैधानिक व्यवस्था अनुसार वन नीति बनाउने काम सुरु गरिएको जानकारी दिँदै विकास निर्माणमा वन र वातावरणका कारण कुनै प्रकारका अवरोध आउन नदिने प्रतिवद्धता जनाउनुभयो ।