८ बैशाख २०८१, शनिबार

सिजेएमसीको सिफारिसमा पाँच जनाबाट पत्रकारितामा विद्यावारिधी


पत्रकारिता

काठमाडौँ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)को सिफारिसमा पाँच नेपाली विद्यार्थीले विदेशी विश्वविद्यालयबाट पत्रकारितामा विद्यावारिधीको अध्ययन पूरा गरेका छन् । नर्वेली विकास सहायता नियोग (नोराड)को सहयोगमा नर्वेको ओस्लो विश्वविद्यालयबाट समीक्षा कोइराला र शरद राईले विद्यावारिधी तथा नोराडकै छात्रवृत्तिमा चार विद्यार्थीले पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिजेएमसीकै सिफारिसमा चीनको कम्युनिकेसन विश्वविद्यालयबाट कृति भुजू, प्रद्युम्न पौडेल र बुद्धी शर्माले विद्यावारिधी पूरा गरेका छन् । पत्रकारिता विषयको विशिष्टीकृत कलेजका रुपमा सन् २००० मा स्थापित सिजेएमसी कलेजले बङ्गलादेशको ढाका विश्वविद्यालयबाट १३ र ड्रिक विश्वविद्यालयबाट पाँच जनाले स्नातकोत्तर पुरा गरेका छन् ।

सो कलेजसँग नोराडको छात्रवृत्ति सहकार्य पूरा भएको अवसरमा आज आयोजित कार्यक्रममा कलेजका संस्थापक प्रिन्सिपल डा मञ्जु मिश्रले नेपालको उच्चशिक्षा र अनुसन्धानमा लगानी वृद्धि गर्न सकिए शैक्षिक गुणस्तर तथा प्राज्ञिक क्षेत्रमा उन्नयन हुने बताउनुभयो । उहाँले हालसम्म स्नातक र स्नातकोत्तर तहमा गरी उत्पादित करिब ४०० विद्यार्थी विभिन्न राष्ट्रिय सञ्चारमाध्यम र सञ्चार विधामा कार्यरत हुनु आफ्नो उपलब्धि भएकाले पत्रकारिताको बेग्लै विश्वविद्यालय स्थापनाका लागि सरकारसँग अनुमति माग गरिएको जनाउनुभयो । बुद्धिजीवी डा सुरेन्द्र केसीले उच्चशिक्षालाई अनुसन्धानमुखी र गुणस्तरीय बनाउन राजनीतिक दलीय आवद्धताबाट प्राज्ञिक संस्थालाई मुक्त पार्नुपर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !