८ जेष्ठ २०८१, मंगलबार

आप्रवासी नागरिकमाथि अस्थायी प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा


डोनाल्ड ट्रम्प

एजेन्सी, वैशाख ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको प्रवेश अस्थायी रुपमा रोक्ने बताएका बताएका छन् । सोमबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आप्रवासी नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने तात्कालिक आदेशमा छिट्टै हस्ताक्षर गर्ने बताएका हुन् ।

कोरोना भाइरसको संकटका कारण अमेरिकामा सीर्जित बेरोजगारी लगायतका आर्थिक समस्याका कारण ट्रम्पले यस्तो कदम चाल्न लागेको बुझिएको छ । तर यसको प्रक्रियातथा मापदण्ड के हुने भन्नेबारे अहिले केही स्पष्ट जानकारी दिइएको छैन ।

उनले अबेर राति ट्वीट गरेर आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने निर्णय अदृष्य शत्रुसँगको लडाईँ र रोजगारीको रक्षाका लागि गरिएको उल्लेख गरेका छन् ।

यतिबेला अमेरिका कोरोना भाइरसको महामारीका कारण आक्रान्त छ। लाखौं अमेरिकी नागरिक बेरोजगार भएका छन् भने अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ।

आलोचकले भने ट्रम्प प्रशासनले कोरोना भाइरसको महामारीलाई आप्रवासविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन्। ट्रम्पले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब समय अमेरिकाले पार गरेको र देशका विभिन्न क्षेत्र खुल्न थालेको पनि बताएका छन् ।

अमेरिकामा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ। त्यस्तै मंगलबार बिहानसम्म ७ लाख ८७ हजार ३ सय ७० जना संक्रमित भएका छन्। त्यस्तै ७२ हजार ७ सय ६१ निको भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !