१४ आश्विन २०८१, सोमबार

सामुद्रिक आँधीका कारण फिजीमा दुई वेपत्ता, तीन हजार विस्थापित


सामुद्रिक आँधी

एजेन्सी, ४ माघ । फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता भएका छन् । ‘तीनो’ नामक शाक्तिशाली आँधीका कारण अरु तीन हजार विस्थापित भएका छन् ।

विस्थापित ती व्यक्तिहरु शरणार्थी शिविरमा बस्न बाध्य भएका अधिकारीहरुले जनाएका छन् । शनिबार तीन चरणमा आँधी आएका फिजीको मौसम विज्ञान विभागले जनाएको छ । समाचारमा जनाइएअनुसार आँधीले घर, खेतीपातीसँगै धेरै भौतिक संरचनाहरुमा पनि क्षति पु¥याएको छ ।“समुद्र धेरै माथि देखिएको थियो, यसले समुद्रभन्दा बाहिरी भागमा पनि धेरै ठाउँमा असर पार्ने भन्ने मलाई लागेको थियो,” एक स्थानीयले एएफपीसँग भने ।

फिजीको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका कर्मचारीहरुले विस्थापितहरुका लागि तत्काल तीन हजार एक सय १५ अस्थायी शिविरहरुको आवश्यकता परेको बताएका छन् । आँधीका कारण घरमा क्षति नपुगेकाहरुलाई भने चाडै नै घर फर्काउन सकिने पनि कर्मचारीहरुले जानकारी दिएका छन् ।“हामीलाई थाहा छ, विस्थापित मध्ये अधिकांशलाई अस्थायी शिविरको आवश्यकता पर्दछ, किनकी अहिले अत्यधिक बर्षा भइरहेको छ, थप खतराको चेतावनी पनि दिइएको छ,” वरिष्ठ अधिकृत उरैया रैनिमाले भन्नुभयो ।

उहाँले अधिकांश घर फर्किन थालिसकेको सूचना आफुहरुलाई प्राप्त भएको पनि जानकारी दिनुभयो । आँधी आएको ताभेनी टापुमा झण्डै १९ हजार मानिस बसोबास गर्ने गरेका थिए । त्यस क्षेत्रमा अहिले विद्युत् सेवा अवरुद्ध भएको छ । विस्थापितहरुले आफ्ना परिवारजनको खोजी पनि गरिरहेका छन् । आँधीकै कारण कसैको मृत्यु भएको खवर भने आएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !