२३ मंसिर २०८१, आइतबार

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने


पृथ्वीराजमार्ग विस्तार

तनहुँ । मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।

पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनिलाई अनुरोध गरेको छ ।

मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ ।

राती १ बजेदेखि १.३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक खण्डमा ४१ द्यशमलव ५ किमि दूरी रहेको छ । हालसम्म दुई लेनको ६३ किमि सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ ।

उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

“आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइनेछ,” उनले भने,“यस राजमार्ग भएर गुड्ने सवारीसाधानले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । ”

उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !