६ पुस २०८१, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित


Donald Trump

पुस ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट बहुमतले पारित भएको छ । ट्रम्पलाई महाभियोग लगाउने वा नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् ।

शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरेको बीबीसीले जानेको छ ।

तल्लो सदनबाट महाभियोग लाग्ने ट्रम्प अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ । माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुको बहुमत छ ।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ। त्यो ट्रम्पविरुद्धका दुई महाभियोग आरोपहरू मध्येको एक थियो। यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ । पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !