संयुक्त राष्ट्रसंघ, १४ साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गर्नुभएको छ ।
हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उहाँले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताउनुभएको छ ।
उहाँका उपप्रवक्ता फहरान हकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा यस्तो आतंककारी हमला गरी सर्वसाधारणको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुनको हनन् तथा मानवताविरोधी ठूलो अपराध हो भन्नुभएको छ ।
महासचिव गुटेरेसले यस्ता आतंककारी हमलाबाट ज्यान गएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनहरुमा समवेदना प्रकट गर्नुभएको छ ।
महासचिव गुटेरेसले जे जस्तासुकै मागहरु भएपनि तिनको समाधान शान्तिपूर्ण प्रक्रियाबाटै समाधान हुने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न सो विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।
नाइजेरियाको उत्तरपूर्वी सहर बोर्नोमा शनिबार भएको हमलामा परी ती नागरिकको ज्यान गएको थियो ।
एक स्थानीयको मलामी गएर फर्किएका उनीहरुलाई नाइजेरियामा हत्या हिंसा जारी राखेको बोको हराम नामक आतंककारी संगठनले गरेको साङ्घातिक हमलामा ६५ जनाको ज्यान गएको थियो ।
नाइजेरियामा सन् २००९ देखि यहाँको सरकारका विरुद्धमा बोको हरामले हिंसात्मक आन्दोलनको घोषणा गरेको थियो ।
त्यसयता उनीहरुले गरेका यस्ता हमलाहरुमा परी कम्तीमा पनि २७ हजार नाइजेरियाली नागरिकको ज्यान गइसकेको छ । (रासस/सिन्ह्वा)