१८ असार, माले । मालदिभ्सको विपक्षी राजनीतकि दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ ।
मालदिभ्स प्रजातान्त्रिक पार्टीका संसदीय दलका नेता सोलिहले प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्व लिनुहुने छ । उहाँको नेतृत्वमा विपक्षी दलको समूहले उम्मेदवारी दिएपछि देशमा प्रजातन्त्रको पुनस्र्थापना हुने अपेक्षा गर्न थालिएको छ ।
मालदिभियन विपक्षीहरुको समूहका रुपमा उहाँलाई पूर्वराष्ट्रपति मोहम्मद नसिदको सट्टामा उम्मेदवार बनाउन लागिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्वराष्ट्रपति नसिदले गत शुक्रबार निर्वाचनमा आपूmले भाग लिने घोषणा गर्दै उम्मेदवारी दिनुभएको थियो । तर निर्वाचन आयोगले उहाँको उम्मेदवारी अस्वीकार गरेको छ ।
पूर्व राष्ट्रपति नसिदले आतङ्ककारी मुद्दामा कारबाही भोगिरहेको भन्दै उहाँको उम्मेदवारी आयोगले अस्वीकार गरेको थियो । आतङ्कवादी क्रियाकलापलाई सहयोग गरेको अरोप लगाउदै पूर्वराष्ट्रपति नसिदलाई थुनामा राखिएको थियो ।
माल्दिभ्समा आउँदो सेप्टेम्बर २३ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुने घोषणा यसअघि नै भइसकेको छ । यस निर्वाचन सरकारले स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्नेमा आफूहरु विश्वस्त नरहेको भन्दै कतिपय विपक्षी दलले सहभागिता नजनाउने बताएका छन् ।
प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वको जिम्मेवारी पाएसँगै सोलिहले निर्वाचनमा बहुमत ल्याएर प्रजातन्त्रको पनि पुनस्र्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सोलिह यस निर्वाचनमा विजयी भएमा उक्त प्रतिपक्षी समूहको नेतृत्व लिइरहेका यहाँका अनुभवी नेता तथा पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई प्रतिस्थापन गर्नुहुनेछ ।
नसीदलाई राजनीतिक प्रतिशोधका कारण वर्तमान सरकारले कारबाही गरेको छ । विदेशमा उपचारका लागि गरेको आग्रहलाई स्वीकार गरिएपछि उहाँ सन् २०१६ पछि निर्वासनमा रहँदै आउनुभएको छ ।
यहाँका कैयौँ नेताहरु अन्यायपूर्ण रूपमा निर्वासनमा बस्दै आएका छन् । त्यस्तै स्वदेशमै पनि यहाँका अर्का पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुम पनि जेलमा हुनुहुन्छ ।
यसरी जेल जिवन विताउदै आएका सबै नेताहरुलाई निर्वाचनपछि न्यायको अनुभूति गराइने र प्रजातन्त्र पुनस्र्थापना गरिने उक्त विपक्षी गठबन्धनले जनाएको छ ।
क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो देश मालदिभ्समा केही वर्षयतादेखि राजनीतिक अस्थिरता बढेको छ ।
मालदिभ्समा पाँच वर्षयता बारम्बार सङ्कटकाल घोषणा गर्ने गरिएको छ । पहिले शान्तिपूर्ण र राजनीतिक स्थीरता रहेको यस राष्ट्र केही वर्षयता बारम्बार राजनीतिक विवादमा तानिने गरेको छ ।
केही महिनामात्र अघि यहाँ राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच नै ठूलो विवादमा उत्पन्न भएको थियो ।
गएको फेब्रुअरी १ मा मालदिभ्सको सर्वोच्च अदालतले यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीहरुलाई रिहागर्न आदेश दियो । त्यसपछि यहाँ समस्या सुरु भएको थियो ।
उक्त फैसलाको कार्यान्वयन गर्दा पूर्व राष्ट्रपति मोहम्मद नसिद र अरु कैयौँ नेतालाई रिहा गर्नुपर्ने हुन्थ्यो । त्यसैले राष्ट्रपति अब्दुल्लाह यामिनले अदालतको आदेश कार्यान्वयन गर्नुभएन ।
अदालतको आदेश कार्यान्वयन गर्दा आफ्ना विरोधीहरुलाई रिहा गर्नुपर्ने भएपछि उहाँले अर्को बाटो रोज्नुभयो र अदालतको ओदेश मान्नुको साटो प्रधानन्यायाधीश नै पक्राउ गर्न आदेश दिनुभयो ।
उहाँमा आफूमाथि संसदमा महाभियोग लाग्नसक्ने त्रास जिवीतै थियो । किनभने उहाँले सर्वोच्च अदालतको आदेश नमानेपछि उहाँलाई महाभियोग लगाएर निकाल्न अदालतले आदेश गर्नसक्ने सम्भावना देख्नुभयो ।
त्यसैले उहाँले प्रधानन्यायाधीशलाई नै पक्राउ गर्ने आदेश दिनुभयो र सर्वोच्च अदालतलाई प्रहरीको घेरामा राख्नुभयो । त्यसयता यहाँको सङ्कट झनै गहिरिएको छ ।
सन् २००८ मा पहिलो पटक प्रजातान्त्रिक रुपमा मालदिभ्सको राष्ट्रपति निर्वाचित भएका नसिदलाई कार्यकाल पूरा नहुदै ‘कू’ गरेर निकालियो । त्यस समयमा पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुम हाबी हुनुभएको थियो ।
तर पछि उहाँलाई पनि वर्तमान राष्ट्रपति यामिनले तारो बनाउनुभयो । हल उहाँ पनि जेलमा नै हुनुहुन्छ । उहाँलाई पनि वर्तमान राष्ट्रपति विरुद्ध लागेको आरोपमा जेल ससजायँ दिइएको हो ।
पूर्व राष्ट्रपति नसिदले देशको प्रतिपक्षी समूहका नेतालाई श्रीलङ्कामा भेटगरी राष्ट्रपति अब्दुल्लाह यामिनलाई पदच्युत गर्ने योजना बनाएको भन्दै उहाँलाई आतङ्ककारी क्रियाकलापमा संलग्न भएको आरोप लगाइएको हो ।
माल्दिभ्समा आउँदो सेप्टेम्बर २३ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुने घोषणा यसअघि नै भइसकेको छ । यस निर्वाचनमा सरकारले स्वतन्त्र र निश्पक्ष निर्वाचन गर्नेमा आफूहरु विश्वस्त नरहेको भन्दै कतिपय विपक्षी दलले सहभागिता नजनाउने बताएका छन् ।
तर प्रमुख विपक्षी दल नै आगामी निर्वाचनमा सहभागी हुने भएकोले यहाँको निर्वाचन सहजै सम्पन्न हुने भएको देखिन्छ । विपक्षीहरुले निर्माण गरेको गठबन्धनले यहाँ प्रजातन्त्रको पनस्र्थापना गर्ने अपेक्षा पनि गरेका छन् ।
त्यसैले यतिखेर यहाँको बारेमा समाचार लेख्ने विश्वका मिडियाले नै प्रश्न गर्ने गरेका छन्– के मालदिभ्समा प्रजातन्त्रको पुनस्र्थापना होला ? (रासस/एएफपी)