७ पुस २०८१, आइतबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिए सपथ


नरेन्द्र मोदी

नयाँ दिल्ली । भारतको लोक सभा निर्वाचनमा नवनिर्वाचित भारतीय जनता पार्टी (भाजपा) नेता तथा कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणका लागि उपस्थित हुँदा प्रधानमन्त्री मोदीले सेतो कुर्ता, चुरीदार र निलो हाफ ज्याकेट लगाएका थिए ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी छन् ।

सन् २०१४ मा प्रधानमन्त्री बनेका उनको अघिल्लो दुई कार्यकाल धेरै प्रमुख पहलहरूद्वारा चिह्नित गरिएको छ । प्रधानमन्त्री मोदीले ‘सबका साथ, सबका विकास, सबका विश्वास’ र ‘विकासउन्मुख र भ्रष्टाचारमुक्त शासन’ को नारामा जोड दिएका थिए ।

प्रधानमन्त्री मोदीले आफ्नो पहलमा आयुष्मान भारत, प्रधानमन्त्री जन धन योजना, सबैका लागि आवास, प्रधानमन्त्री श्रम योगी मन धन योजना, ‘उज्ज्याला योजना’ र पीएम किसान सम्मान निधि, उडान, मेक इन इन्डियालगायतका योजना अघि बढेका छन् ।

उनीसँगै उनको मन्त्री परिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगत प्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याविनेट मन्त्रीका रूपमा सपथ लिएका छन् । सिंह, शाह र गडकरी यस पहिलेको सरकारमा क्रमशः रक्षामन्त्री, गृहमन्त्री र यातायात मन्त्रीका रूपमा काम गरेका थिए ।

नयाँ मन्त्रीमण्डलमा जनता दल युनाइटेडका राष्ट्रिय अध्यक्ष ललन सिंह र मध्यप्रदेशका पूर्वमूख्यमन्त्री शिवराज सिंह चौहानले पनि सपथ लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !