३ असार २०८१, आइतबार

दुई कोरियाबीच उच्चस्तरीय बैठक हुदै


south-korea-north-korea_650x400_61445756201 (1)

१८ जेठ, सोल ।  उत्तर र दक्षिण कोरियाको मन्त्रीस्तरको उच्चस्तरीय बैठक शुक्रबार बस्ने भएको छ । यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा सो वार्ता स्थगित गरेको थियो ।

शुक्रबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा सो बैठक बस्ने भएको हो । उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक यसअघि उत्तर कोरियाले एकतर्फी रुपमा अकस्मात स्थगित भएको जानकारी दिएको थियो ।

उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोधगर्दै सो बैठक नबस्ने जनाएको थियो ।

तर त्यसयता भने यी दुई देशबीचको सम्बन्धमा सुधार आएको बताइएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल यस वार्ताका लागि उक्त पानुमजोम भिलेज पुगेको छ ।

सोही प्रतिनिधिमण्डलले उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति गरेको थियो । यो बैठका दुई कोरियाका मन्त्रीस्तरमा हुने समाचारमा जनाइएको छ ।

दुई कोरियाबीच गत अप्रिल २७ मा शान्ति सम्झौता भएको थियो । तर पछि परिस्थितिमा सकारात्मक परिवर्तन आएको छ ।

मे २५ मा यी दुई शका उच्च नेताहरु दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच पुनः भेटवार्ता भएको थियो ।

त्यस भेटमा दुई देशको अघिल्लो शान्ति सम्झौताको कार्यान्वयन गर्ने र अमेरिकासँगको उत्तर कोरियाको वार्ताका लागि सकारात्मक वातावरण बनाउने विषयमा सहमति भएको बताइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीचको यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

यस वार्ता दुई देशको मन्त्रीस्तरमा हुने भएको हो । वार्ताका लागि पानुमजोम जानुअघि सम्वाददाताहरुसँग दक्षिण कोरियामा एकता मन्त्री च्यो म्यान गोले भन्नुभयो– हामीले आगामी अमेरिका उत्तर कोरिया वार्ता र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक छलफल गर्नेछौँ ।

उत्तर कोरियाली नेता मस्को जाने 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार उत्तर कोरियाली नेता किम जोङ उन शिखर वार्ताका लागि रुसी राजधानी मस्को जानुहुने भएको छ ।

उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग भेटवार्ता गर्नुहुने छ । उहाँले अमेरिका र उत्तर कोरियाबीच आगामी महिना हुन लागेको शिखर वार्ताको विषयमा कुराकानी गर्नुहुने छ ।

यसै प्रयोजनका लागि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ पनि बिहीबार उत्तर कोरिया पुग्नुभएको थियो । त्यसपछि नेता किम नै रुस जाने यो घोषणा आएको हो ।

लाभरोभ उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्न त्यहाँ पुग्नु भएको हो । उहाँहरुले यस विषयमा कुराकानी गर्नुभएको छ ।

उक्त विज्ञप्तिमा विदेशमन्त्री लाभरोभले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हिसँग द्विपक्षीय वार्ता गर्नु भएको छ । उहाँको आमन्त्रणमा विदेश मन्त्री लाभरोभ त्यहाँ पुग्नु भएको थियो ।

उत्तर कोरियाली समाचार संस्थाका अनुसार उत्तर कोरियाली नेता किम केही दिनमा त्यसतर्फ लाग्नुहुने छ ।
तर उहाँ कहिले मस्को जानुहुन्छ भन्ने बारेमा भने सो समाचार समितिले केही खुलाएको छैन ।  (रासस/एएफपी/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !