८ बैशाख २०८१, शनिबार

अन्तत: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ


डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । अन्तत: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अदालतमा सुनुवाइ भएपछि उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

हिजो मंगलबार म्यानहटनको अपराधिक अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । ट्रम्पलाई अदालतमा उनका वकिलले घेरा हालेका थिए ।

अदालती सुनुवाइअघि सोमबार नै न्यूयोर्कस्थित ट्रम्प टावरमा पुगेर सो रात त्यहीँ बिताएका थिए । अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो ।

ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत पोर्नस्टार स्टोर्मी डेनिल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरुद्ध मुद्दा चलेको छ । ट्रम्पले गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको आरोप लागेको हो ।

यसका साथै ह्वाइट हाउसबाट महत्वपूर्ण कागजात लगेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायत ट्रम्पमाथि आरोप लागेका छन् ।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । अमेरिकी इतिहासमै पूर्वराष्ट्रपतिविरुद्ध फौजदारी मुद्दा चलेको यो पहिलोपटक हो । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनी दोषी ठहर भएमा बढीमा चार वर्षको जेल सजाय भोग्नुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !