७ बैशाख २०८१, शुक्रबार

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री भोलि बुधबार नेपाल आउँदै


एलिजाबेथ केनेडी ट्रुडो

काठमाडौँ । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छिन् । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो भोलि बुधबार नेपाल भ्रमणमा आइपुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन् । १२ दिनको विदेश यात्रामा उनी नेपालपछि संयुक्त अरब इमिरेट्सको भ्रमण गर्ने छिन् । त्यसपछि उनले मध्य एसियाका उज्वेकिस्तान र किर्गिस्तानको पनि भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भोलि बुधबारदेखि सुरु हुने उनको १२ दिने विदेश भ्रमणमा द्विपक्षीय सम्बन्ध र ‘रुस र चीनबाट फैलाइएका गलत सूचनाको प्रतिवाद’ गर्ने विषय प्राथमिकतामा परेको विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।

अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ । नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन् ।

पछिल्लोपटक नेपालमा अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमणपूर्ण सूचना दिएको आरोप अमेरिकाले लगाएको थियो । यद्यपि चीनले उक्त आरोप खण्डन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !