८ पुस २०८१, सोमबार

क्यानडामा संकटकाल घोषणा


क्यानडा

एजेन्सी । क्यानडाको राजधानी ओट्टावाका मेयरले संकटकाल घोषणा गरेका छन् । कोभिड–१९ को स्वास्थ सुरक्षा नियमविरुद्ध एक साताभन्दा लामो समयदेखि ट्रक व्यवसायीहरुले चलाउँदै आएको विरोध प्रदर्शनलाई लिएर सोमवार संकटकाल घोषणा गरिएको हो ।

“प्रदर्शनकारीहरुको संख्या बढ्दै गएकाले स्थिती नियन्त्रणभन्दा बाहिर गएको छ । यो विरोध आन्दोलन अब स्थानीय वासिन्दाको सुरक्षा तथा बचाउको सवाल पनि भइसक्यो,” मेयर जिम वाटसनले भनेका छन् ।

टेन्ट र सवारी साधनहरु सडकमै तेर्साइएकाले ओट्टावाका सहरलाई ट्रकहरुले ठप्प पारिसकेका छन् । सरकारले प्रत्येक ट्रक चालकले कोभिड–१९ विरुद्धको खोप अनिवार्य रुपमा लगाउनुपर्ने सरकारको नीतिविरुद्ध उनीहरुले ‘फ्रिडम कन्भ्वय’ नामक आन्दोलन चलाएका छन् ।

क्यानडाली रेडियो सीएफआरएसँग कुरा गर्दै वाटसनले भनेका छन्, “प्रदर्शनकारीले निरन्तर झनझन उग्र व्यवाहार प्रर्दशन गर्न थालेका छन् । उनीहरुले चर्को आवाजमा हर्न र साइरन बजाउने, आतिशवाजी गर्ने सडकमै पार्टीसमेत मनाउन थालेका छन् । प्रहरीको संख्या नपुग भएकाले हामी हारेकै स्थितीमा छौं । हामीले सहरलाई पहिलाकै सामान्य अवस्थामा फर्काउनु पर्दछ ।” अधिकांश राजधानीवासीले भने यो प्रदर्शनको विरोध गर्दै आएका छन् ।-बीबीसीबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !