उलान बाटोर । मंगोलियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सवैभन्दा थोरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मंगोलियामा ४५० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
यो सङ्ख्या मे १८ पछिकै सवैभन्दा थोरै भएको पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन । मंगोलियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६८ हजार ६०० पुगेको तथ्याङ्क मन्त्रालयसँग छ ।
त्यसैगरी अहिलेसम्म कोरोनाका कारण एक हजार ७४४ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरस विरुद्धको खोप अभियान र जनचेतनामुलक अभियान तिव्र रुपमा चलाइएकाले महामारीको प्रभाव कम हुदै गएको बताइएको छ ।
मंगोलियाका चार लाख ४५ हजार ९०० भन्दा बढीलाई अतिरिक्त खोप लगाइएको छ । स्वास्थ्य मन्त्रालयले अहिले पनि भिडभाड नगर्न, मास्कको प्रयोग गर्न, सेनिटाइजर लगाउन आह्वान गरिरहेको छ ।