७ बैशाख २०८१, शुक्रबार

भारतमा एकैदिन हालसम्मकै धेरै १ लाख ३१ हजार कोरोना संक्रमित थपिए


भारतमा कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयले जानकारी दिएको छ । यो संक्रमण संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै भएको जनाइएको छ ।

भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ । भारतमा कोरोना संक्रमण हुने दर ९.२१ प्रतिशत पुगेको छ । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ ।

भारतमा गत २४ घण्टाको अवधिमा ७८० जनाको कोरोना संक्रमणवाट मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १ करोड १९ लाखभन्दा बढी निको भई सकेका छन् । संक्रमणको अवस्था भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार साँझसम्म ९ करोड ४३ लाख ३४ हजार २ सय ६२ जनाले खोप लगाइसकेकामध्ये ३६ लाख ९१ हजार ५ सय ११ जनाले बिहीबार मात्रै दिन खोप लगाएका अधिकारीहरूले जनाएका छन् ।

यसैबीच भारतको राजधानी नयाँ दिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए । संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !