१३ बैशाख २०८१, बिहिबार

भारतको उत्तराखण्डमा हिमताल विष्फोट, १५० जना मजदुर बेपत्ता


भारतको उत्तराखण्डमा हिमताल विष्फोट

नयाँ दिल्ली । भारत उत्तराखण्डको चमोलीमा हिमताल विस्फोट भएपछि बाढी आएको हो भने बाढीले ऋषि गंगा तपोवन हाइड्रोपावर बगाएको छ । हाइड्रो पावरमा कार्यरत १५० जना मजदुर बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमताल विष्फोट भई धौली नदीमा बाढी आउँदा धेरै नै नोक्सान भएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । नदीमा आएको बाढीले हाइड्रोपावरमा क्षति पुग्नुका साथै नदी आसपासका घर बगाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्भाग्यपूर्ण स्थिति भएको भन्दै सबैको सुरक्षाका लागि प्रार्थना गरेको बताएका छन् । भारतीय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको जानकारी दिएका छन् ।

अहिले माथिल्लो क्षेत्रमा बाढी घटेको छ । त्यस्तै त्यो बाढी तल्लो तटीय क्षेत्रमा पुग्दा त्यसको असर कम भएका कारण जोखिम घटेको भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढी प्रभावित क्षेत्रमा अहिले उद्धारको काम भइरहेको छ ।

बाढीले नदीका कयौं तटबन्ध समेत भत्काएपछि उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलको निरीक्षणमा निस्किएका छन् । हिमताल विष्फोट हुँदा हरिद्वारमा खतरा बढेको बताइएको छ । क्षतिको थप विवरण भने आउन बाँकी छ ।
भारतको उत्तराखण्डमा हिमताल विष्फोट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !