वासिङ्टन । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिनुभएको छ । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उहाँले सोमबार सिनेटर पदबाट राजीनामा दिनु भएको हो ।
“मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,” उहाँले ट्वीटरमा लेख्नु भएको छ । अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उहाँ उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्नु हुने भएको छ ।
सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको उहाँले बताउनु भएको हो । अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०-५० जना सदस्य रहेका छन् ।
ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँसँगै उहाँकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दुवै जनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लाग्नु भएको छ ।