३० कार्तिक २०८१, शुक्रबार

इजरायल–मोरक्कोबीच व्यावसायिक उडान शुरु


उडान

तेल अभिभ । इजरायल र मोरक्कोबीच पहिलो व्यावसायिक हवाई सेवा मङ्गलबार शुरु भएको छ । इजरायलको तेल अभिभबाट पहिलो विमान मोरक्कोका लागि उडेको स्थानीय टेलिभिजनहरुले प्रसारण गरेका छन् ।

अमेरिकी अग्रसरतामा इजरायल र मोरक्कोबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्झौता भएसँगै दुबै देशबीच पहिलो व्यावसायिक उडान शुरु भएको हो ।

इजरायली विमान सेवा अल एलको पहिलो उडानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ एवं सल्लाहकार जारेड कुश्नर तथा इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार मेइर बेन शाब्बात रहनु भएको थियो । यो विमान मोरक्कोको राजधानी राबातका लागि प्रस्थान गरेको हो ।

राबातमा मोरक्को र इजरायली अधिकारीहरुले विभिन्न विषयका सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी मध्यस्थतामा यसअघि अरब मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) सँग इजरायलको दौत्य सम्बन्ध स्थापना गरिएको थियो । यी दुबै मुलुकले एकअर्का देशमा राजदूतावास खोल्ने, पर्यटकीय गतिविधि सञ्चालन गर्ने, प्रत्यक्ष हवाई उडान गर्ने एवं लगानी गर्ने समेतका विभिन्न विषयमा सम्झौता गरिसकेका छन् ।

यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले पनि दौत्य सम्बन्ध स्थापना गरिसकेका छन् । खासगरी प्यालेस्टिनीको विषयलाई लिएर अरब राष्ट्रसंग इजरायलको सम्बन्ध वर्षौंदेखि तिक्ततापूर्ण रहिआएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !