८ बैशाख २०८१, शनिबार

भारतको केरलामा विमान दुर्घटना (अपडेट) : २० जनाको मृत्यु


एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटना

काठमाडौं, साउन २४ । चालकदल सहित १९० जना सवार एअर इन्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य केरलामा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । दुर्घटनामा १४० बढी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

विमानमा १७४ वयस्क, १० जना नाबालक तथा २ पाइलट रहेका थिए । त्यस्तै ४ जना अन्य चालक दलका सदस्य रहेको बताइएको छ । विमानमा अधिकांश युएईमा जागिर गुमेका सवार रहेको बताइएको छ ।

अवतरणका क्रममा अगाडिको भाग जमिनमा पहिले ठोक्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नागरिक उड्ययन प्राधिकरण प्रमुख अरुण कुमारका अनुसार विमान तीव्र गतिमा अवतरण गर्दा दुर्घटना हुन पुगेको हो । विमान दुई टुक्रा भएको थियो । तर आगलागी भने नभएको प्रमुख अरुण कुमार जानकारी दिएका छन् ।

ज्यान गुमाउनेमा २ जना पाइलट रहेको एअर इन्डिया एक्सप्रेसले जनाएको छ । भारतीय उड्डयन अधिकारीहरूका अनुसार संयुक्त अरब एमिरेट्सको दुबईबाट उडेको एअर इन्डियाको उक्त बोइङ ७३७ विमान क्यालिकट विमानस्थलमा अवतरणका क्रममा शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा दुर्घटना भएको थियो ।

ठूलो पानी परेकाले विमान धावनमार्गमा चिप्लिएको र त्यसपछि बजारिएर दुई टुक्रा भएको समाचारमा जनाइएको छ । विमानमा कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेर उद्धार गरिएका भारतीय नागरिकहरू चढेका थिए ।

कैयौँ मानिस घाइते भएका र तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमान दुर्घटनाले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !