१३ बैशाख २०८१, बिहिबार

फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले दिए राजीनामा


फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले दिए राजीनामा

पेरिस, असार १९ । फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालय एलिसी प्यालेसका अनुसार प्रधानमन्त्री फिलिपले बुझाएको राजीनामा पत्र राष्ट्रपति इम्यानुयल म्याक्रोंले स्वीकृत गरिसकेका छन् ।

उनले राजीनामाको कारण भने खुलाइएको छैन। अघिल्लो साता फ्रान्समा भएको स्थानीय चुनावमा सत्तारूढ पार्टीले पराजय भोगेको थियो । कोरोना भाइरसको महामारीको असर र त्यसबाट सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन चुनौती म्याक्रों सामू छ ।

केही समयमै नयाँ प्रधानमन्त्री नियुक्त हुने एलिसी प्यालेसले बताएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म फिलिपले नै अन्तरिम प्रधानमन्त्रीको रूपमा काम गर्ने छन् । यद्यपि राजीनामा दिएका प्रधानमन्त्री पुनः सोही पदमा दोहोरिन सक्ने बताइएको छ ।

‘फिलिपले आज राजीनामा पत्र राष्ट्रपतिलाई दिएका छन् जुन स्वीकृत भएको छ। नयाँ सरकार नबनेसम्मका लागि उनी र अरू सरकारका सदस्यहरूले नै सम्हाल्नेछन्,’ राष्ट्रपति कार्यालयको विज्ञप्तीमा भनिएको छ। सन् २०१७ मा म्याक्रोंले राष्ट्रपतिको चुनाव जितेपछि ४९ वर्षीय फिलिप प्रधानमन्त्री भएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु