१३ बैशाख २०८१, बिहिबार

चर्चित बलिउड नृत्य निर्देशक सरोज खानको निधन


चर्चित बलिउड नृत्य निर्देशक सरोज खानको निधन

एजेन्सी, असार १९ । चर्चित बलिउड नृत्य निर्देशक सरोज खानको ७२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । उनी पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो । उनको कोरोना संक्रमण पनि जाँच भएको थियो तर रिपोर्ट नेगेटिभ आएको थियो । सरोज खान भारतको फिल्म इण्डस्ट्रीको दिग्गज नृत्य निर्देशक मध्ये एक हुन् ।

उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा गरेकी थिइन् । उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतको स्वतन्त्र रुपले निर्देशन गरेकी थिइन् । बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन् ।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन् ।

उनले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘ तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन्। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !