काठमाडौं, वैशाख ३१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि स्थगित गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार कोरोना भाइरस सङ्क्रमणको त्रास बढेकाले बैठक स्थगित गरिएको हो । स्थायी कमिटीका सबै सदस्यको स्वास्थ्य परीक्षण नगरिएकाले पनि तत्काल बैठक बस्न नसकेको हो । सांसदहरुको कोरोना परीक्षण गरिए पनि स्थायी कमिटीका सबै सदस्य भने सांसद नरहेकाले केही स्थायी कमिटीका सदस्यहरुको परीक्षण नभएको नेकपाले जनाएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान ११ बजे बस्ने बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम, पार्टीभित्रको आन्तरिक विवाद तथा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे जस्ता महत्वपूर्ण विषयमा निर्णय हुनसक्ने बताइएको थियो ।
यसअघि २५ गते स्थायी कमिटी बैठक डाक्ने निर्णय भएपछि बैशाख २४ बसेको सचिवालय बैठकमा एजेण्डा तय हुन नसकेपछि बैठक अनिश्चित बनेको थियो । बैशाख २४ उक्त बैठकमा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा शीर्ष नेताहरुसँग चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक नै छाडेर हिडेका थिए ।
सरकारको कार्यशैलीप्रति असन्तुष्ट नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेर दुवै जना अध्यक्षलाई पत्र बुझाई सकेका छन् । तर प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।
यो पनि पढ्नुहोस्