९ पुस २०८१, मंगलबार

पूर्वप्रशिक्षक पुबुदु दसानायके नेपाल फर्किने सम्भावना


पुबुदु दसानायके

चैत्र १३, २०७२- पूर्वप्रशिक्षक पुबुदु दसानायके छोटो समयका लागि नेपाली राष्ट्रिय टिम सम्हाल्न काठमाडौं आउने सम्भावना बढेको छ । उनी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नामिबियासँग घरेलु खेलका लागि आउँदा २ साता नेपालको प्रशिक्षक हुने सम्भावना देखिएको हो ।

दसानायकेले नोभेम्बरमा च्याम्पियनसिपको पपुवा न्युगिनीसँगको खेलअघि नै राजीनामा दिएका थिए । पपुवा न्युगिनीसँगको खेलपछि उनी कर्मथलो क्यानडा फर्किएका थिए । तर नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवाद र दुई समानान्तर संघका कारण नेपालले अझै प्रशिक्षक नियुक्त गर्न सकेको छैन । नामिबियासँग हुने महत्त्वपूर्ण खेल अगाडि श्रीलंकाका पूर्वविकेटकिपर दसानायके नेपालको प्रशिक्षकमा रहने सम्भावना देखिएको हो ।

क्यानभित्रको विवादका कारण नामिबियासँग आयोजना हुने खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफ्नै सक्रियतामा तयारी अगाडि बढाइरहेको छ । आईसीसीले त्यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सहकार्य गर्दै आएको छ ।

नामिबियासँगको खेल आयोजना हुने स्थल त्रिवि क्रिकेट मैदानको तयारी निरीक्षण गरिरहेका आईसीसी एसियाका डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुराले दसानायके फर्किने संकेत गरेका हुन् । ‘उनी उपलब्ध छन् भने हामी ल्याउने प्रयास गर्नेछौं । यस्तो अवस्थामा दसानायके जस्तो खुबी भएको प्रशिक्षक हामीलाई चाहिएको अनुभूति भएको छ । किनभने शीर्ष चारभित्र परिरहन नेपाललाई नामिबियासँगको खेल जित्नुपर्ने आवश्यकता छ, तर अहिलेसम्म केही पनि निश्चित भएको छैन,’ वार्नापुराले भने ।

उनले अगाडि भने, ‘केही दिन अगाडि हामीले उनलाई पत्राचार गरेका थियौं । उनले अप्रिल ३ पछि मात्र उपलब्ध हुन सक्ने जनाएका छन् । यदि सबै सरोकारवालाहरू सहमत भएमा र रकम उपलब्ध भएमा निश्चित रूपमा हामी उनलाई यहाँ ल्याउनेछौं ।’ जगत टमाटाले अहिले नेपाली टिमको प्रशिक्षण सम्हालिरहेका छन् । दसानायके भित्र्याउन स्वीकृतिका लागि राखेपसँग प्रस्ताव पनि राखिसकेको छ ।

वार्नापुराका अनुसार दसानायकेको सबै खर्च आईसीसी र एसियाली क्रिकेट परिषद् (एसीसी) ले क्यानलाई दिनुपर्ने रकमबाट गर्नेछ । नेपाली क्रिकेटको निकायमा देखिएको विवादका कारण आईसीसी र एसीसीबाट सन् २०१४ देखि नेपालले विभिन्न शीर्षकको रकम पाउन सकेको छैन, जुन ९ लाख डलरभन्दा माथि हुन्छ ।

दसानायकेले एक साता अगाडि आफूलाई प्रस्ताव आएको बताए । ‘नामिबियासँगको खेलमा मलाई नेपाली टिमलाई सहयोग गर्न भनी सम्पर्क गरिएको छ । यसमा कसैलाई समस्या हुँदैन भने म तयार छु भनेको छु,’ उनले भने । नेपाल र नामिबियाबीच दुई खेल वैशाख ४ र ६ गते आयोजना हुँदैछ ।

नेपालले पहिलो दुई चरणमा स्कटल्यान्ड र पपुवा न्युगिनीसँग गरी ४ खेल हारिसकेको छ । शीर्ष चारमा पर्न नेपालले यो खेल जित्नैपर्ने अवस्था छ । ८ राष्ट्र सहभागी च्याम्पियनसिपमा एउटा राष्ट्रले ७ टिमसँग गरी १४ खेल खेल्नेछ । शीर्ष चारभित्र पर्ने सन् २०१८ मा हुने विश्वकप छनोटमा सोझै छानिनेछन् ।

२५ खेलाडी छनोट
नामिबियाविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालले शुक्रबार दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको छ । निर्धारित तालिकाअनुसार नेपालले वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा नामिबियासँग तेस्रो चरणको खेल खेल्ने कार्यक्रम रहेको छ ।

छनोट खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, सोमपाल कामी, वसन्त रेग्मी, सागर पुन, विक्रम सोब, सुवास खकुरेल, करण केसी, नरेश बुढाऐर, सिद्धान्त लोहनी, सन्दीप लामिछाने, अनिल मण्डल, सुनील धमला, दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, प्रेम तामाङ, सुसन भारी, मञ्जित श्रेष्ठ, अविनाश कर्ण, आरिफ शेख, राजेश पुलामी, प्रदीप ऐरी र विनोद भण्डारी छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एसियाका प्रमुख विकास अधिकृत वेंकटपथी राजु, प्रशिक्षक जगत टमाटा र खेलाडी पारस खड्का रहेको तीन सदस्यीय स्वतन्त्र छनोट समितिले २५ सदस्यीय टिमको नामावली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !