१८ असार । अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ ।
बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको सिड्नीबाट प्राप्त समाचारमा जनाइएको छ ।
अष्ट्रेलियाको दि युनिभर्सिटी अफ न्यु साउथ वेल्सको अनुसन्धानमा यस्तो तथ्य भेटिएको हो । उक्त विश्वविद्यालयआवद्ध कर्बि नामक एक संस्थाले गरेको अनुसन्धानमा यहाँको एचआाइभी संक्रमण दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको देखिएको समाचारमा उल्लेख छ ।
उक्त संस्थाको अनुसन्धानले सन् २०१८ मा एचआइभी संक्रमितहरुको गणना गरिएकोमा ८३५ जना मात्र भेटिएको देखाएको छ ।
देशभरमा गरिएको सो एचआइभी संक्रमितहरुको खोजीका क्रममा ८३५ जना मात्र भेटिएको उक्त संस्थाका प्रमुख प्राध्यापक रेबेका गायले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो संख्या गएको १८ वर्षयताकै सबैभन्दा कम हो । उहाँले भन्नुभयो– अष्ट्रेलियामा हरेक वर्ष एचआइभी संक्रमितहरुको पहिचान गरी तथ्याङ्क सङ्कलन गर्ने गरिएकोमा गतवर्ष अर्थात् सन् २०१८ को यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा थोरै हो ।
उहाँले भन्नुभयो– हुनत हामीले पछिल्ला वर्षहरुमा अष्ट्रेलियामा एचाआइभी संक्रमितहरुको संक्रमण दर घट्दै गएको देखेका छौँ, तर गत वर्षको यो तथ्याङ्क भने अहिलेसम्मकै सबैभन्दा कम हो ।
उहाँले यसअघिका अनुसन्धानहरु यहाँका विभिन्न राज्यमा गर्ने गरिएको र राज्यस्तरमा घट्दो दर देखिएको भन्दै तर गत वर्षको यो तथ्याङ्क भने राष्ट्रिय स्तरकै भएकोले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।
यो संक्रमणमा आएको कमी भनेको यहाँको सरकारले स्वाथ्यका क्षेत्रमा गरेका प्रतिबद्धताहरुको परिणाम भएको पनि उहाँले बताउनुभयो ।
यहाँको सरकारले एचआइभी एड्सको नियन्त्रणका क्षेत्रमा दरिलो प्रतिबद्धता व्यक्त गरेको र सो प्रतिबद्धताअनुसार काम गरेकोले एचआइभीको संक्रमणमा कमी आएको बताइएको छ । (रासस/सिन्ह्वा)