५ जेष्ठ २०८१, शनिबार

आधार शिविरबाट क्याम्प चारतर्फ


Nepalpatra

सोलुखुम्बु, २४ वैशाख । मौसममा सुधार आएपछि आधार शिविरमा झरेका सगरमाथा आरोहीका सहयोगी क्याम्प एक र दुई हुँदै क्याम्प चारतर्फ उकालो चढ्न थालेका छन् । सोमबार मौसम राम्रो भएकाले मङ्गलबार बिहानै आरोहीका सहयोगी शेर्पा आवश्यक सामग्रीसहित क्याम्प चारतर्फ प्रस्थान गरेको आधार शिविरबाट आरोही कामीरिता शेर्पाले जानकारी दिनुभयो ।

क्याम्प तीनसम्म पुगेका आरोही र उनका सहयोगी समुद्री चक्रपात फानी र पश्चिमी वायुको प्रभावका कारण बिहीबार बेलुका र शुक्रबार आएको हावाहुरीले गर्दा आधार शिविर झरेका थिए । “हिजोको मौसम राम्रो भयो, आज बिहानै, शेर्पाहरु खाना, अक्सिजन, पालसहित क्याम्प चार तीर हिँडिसके ।” सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण गरी कीर्तिमानी कायम गर्नुभएका शेर्पाले मङ्गलबार बिहान टेलिफोन सम्पर्कमा भन्नुभयो, “क्याम्प चारसम्मको बाटो बनिसकेको छ, त्यहाँसम्म शेर्पाहरुले सामान पु¥याउन गएका हुन् ।”

सगरमाथा आरोहण गर्ने आरोही अहिले आधार शिविरमा आराम गरेर बसिरहेका छन् । यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति पाएका ४१ समूहका ३७८ जना आरोही आधार शिविर पुगेको सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो याममा ३०२ पुरुष र ७६ जना महिला आरोहीले सगरमाथाको शिखर चढ्दैछन् । आरोहण गर्नेमा छ समूहका १३ जना नेपाली पनि रहेका छन् । विभिन्न कीर्तिमान कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने आरोहीका लागि क्याम्प तीनसम्म टेन्ट टागिएको छ । फानीका कारण आएको हावाहुरीले क्याम्प तीनमा भएको करीब एक दर्जन र क्याम्प दुईमा रहेको डेढ दर्जन टेन्ट हावाले उडाएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

हावाले टेण्ट उडाएपछि थप टेण्टसहित शेर्पा मङ्गलबार बिहान त्यसतर्फ प्रस्थान गरेको आरोही कामीरिताले जानकारी दिनुभयो । अहिले आधार शिविरमा सगरमाथा, लोत्से, नुप्त्से, आमादब्लम हिमाल अरोहण गर्ने आरोही र उनका सहयोगी गरी करीब एक हजार ५०० जना रहेका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाका अनुसार सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८, लोत्सेका लागि १० समूहका ९२, नुप्त्सेका लागि तीन समूहका ३७ र आमादब्लम हिमाल आरोहणका लागि पाँच समूहका ४९ जना आरोहीले आरोहण अनुमाति लिएका छन् ।

सगरमाथाको शिखर जाने बाटो क्याम्प चारसम्म बनिसकेको छ । बिहीबार नै क्याम्प चारसम्मको बाटो बनिसकेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

“मौसम प्रतिकूल हुँदा बाटो बनाउने टोली आधार शिविर झरेको छ”, अधिकृत श्रेष्ठले भन्नुभयो, “मौसम राम्रो भयो भने अब एकदेखि दुई दिनभित्र शिखरसम्मको बाटो बनिसक्छ ।” हिमालयन गाइडले यसपटक सगरमाथा आरोहीका लागि दोस्रो क्याम्पदेखि चुचुरोसम्म डोरी टाँगेर बाटो बनाइरहेको छ । उक्त कम्पनीका आठ जना गाइडले डोरी टाँगेर बाटो बनाइरहेका छन् ।

सगरमाथा आरोहण समयमा नेपाल सरकारकोतर्फबाट खटिएका सम्पर्क अधिकृतसमेत आधार शिविरतर्फ प्रस्थान गरेका छन् । एक समूहका लागि एक जना कर्मचारीलाई सम्पर्क अधिकृत खटाउने नेपाल सरकारको नीतिअनुसार उनीहरु आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

सगरमाथा आरोहण गर्ने ४१ समूहका लागि ४१ जना सम्पर्क अधिकृत खटिएका छन् । तर ती अधिकृतमध्ये १० जनाभन्दा बढी नाम्चेबाटै काठमाडौँ फर्किएको स्रोतले जनाएको छ । विगत वर्षमा पनि अधिकांश सम्पर्क अधिकृत आधार शिविर नपुगी बीच बाटोबाटै फर्कने र काठमाडौँमा बसेर आधार शिविरको रिपोर्टिङ हुने गरेको सगरमाथा आरोही किताप सिं तामाङले बताउनुभयो ।

आरोहीलाई केही समस्या भएमा या उद्धार गर्नुपर्ने, आरोहण गरे या नगरेको लगायतको यकिन विवरण लिने काम सम्पर्क अधिकृतको भए पनि बेवास्ता गर्दै भत्ता बुझ्ने काम गरिरहेको आरोही बताउँछन् । सम्पर्क अधिकृत नहुँदा आरोहीलाई विभिन्न किसिमको समस्या हुने गरेको आरोही विजय घिमिरे विश्वकर्माले बताउनुभयो । सरकारले सम्पर्क अधिकृत भनेर खटाउँछ तर कति आरोहीले सम्पर्क अधिकृत कस्तो हुन्छन् भनेरसमेत देख्न नसकिने आरोहीको गुनासो छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !