६ जेष्ठ २०८१, आइतबार

सूर्यविनायकमा रङ्गशाला र चिडियाखाना बन्ने


suryabinaya

२९ पुस, भक्तपुर । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूनाको नगरपालिका बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उहाँले सूर्यविनायक नगर क्षेत्र विकासमा निकै अगाडि लम्किसकेको बताउनुभयो ।

पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले सूर्यविनायकको गाउँगाउँलाई आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उल्लेख गर्दै यो नगरलाई धार्मिक परिपथ एवं धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

“यातायातको सहज पहुँच हुनेगरी सडक विस्तार गर्ने, झोलुङ्गे पुलदेखि सुरुङ मार्ग एंव मानव निर्मित तलाउसम्मको निर्माण गर्ने र अन्तर्राष्ट्रिय रङ्गशालादेखि प्राणी उद्यानसम्म सूर्यविनायकमै निर्माण हुन लागेकाले यस क्षेत्रको मुहार चाँडै फेरिन्छ”, उहाँले भन्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले ‘समृद्ध सूर्यविनायक, सुखी नगरवासीको’ नारा सार्वजनिक गर्दै नगरपालिकाको तेस्रो नगर सभामा तय गरिएको ‘पर्यटन, कृषि, शिक्षा र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने दृष्टिलाई साकार बनाउन आवश्यक रणनीतिक योजना सार्वजनिक गर्नुभयो ।

उहाँले पूर्वाधारको विकासमार्फत पहुँच अभिवृद्धि, सामाजिक विकासमार्फत समाजको रुपान्तरण, आर्थिक समृद्धि, वातारवण संरक्षण तथा विपद् व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकास, प्रभावकारी न्याय सम्पादन, आन्तरिक राजश्वको सुदृढीकरणलगायत रणनीति नगरपालिकाले अवलम्बन गरेको जानकारी दिनुभयो ।

भक्तपुर युवा सम्मेलन सम्पन्न

युवाका हक, अधिकार र अवसरका बारेमा विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ आज सम्पन्न भएको छ ।

राष्ट्रिय युवा परिषद्, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमि नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरको सहकार्यमा युवाका साथ साथ आवाज नेपालले आयोजना गरेको सो दुईदिने सम्मेलनले तीनै तहका सरकारले देशको युवा जनशक्तिलाई स्वदेशमा नै उत्पादनमूलक कार्यमा संलग्न हुन अवसर र वातावरण सृजना गनुपर्ने माग जारी घोषणापत्रमा उल्लेख छ ।

यसैगरी घोषणापत्रमा युवालाई व्यावसायिक तथा प्राविधिक सीपमूलक तालीम प्रदान गर्र्नुपर्ने, स्थानीयस्तरमा भएका स्रोतसाधन अनुकूल उद्योग स्थापना गरी युवा स्वरोजगार प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने, युवा उद्यमीका लागि सरकारले ल्याएको सहुलियतपूर्ण ऋणकर्जा एवं सुविधा लिने प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउनुपर्ने, स्थानीय सरकारले अनिवार्य रुपमा युवा सहभागितामा योजना निर्माण तथा बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ ।

युवा नेतृत्व सङ्घसंस्थाहरुसँग साझेदारी गर्दै रणनीति कार्यक्रम ल्याउनुपर्ने, वैदेशिक रोजगारीबाट सिकेका सीप र सिर्जनालाई आफ्नै देश विकासमा लगाउन विशेष आर्थिक नीति ल्याउनुपर्नेलगायत बुँदाहरु घोषणापत्रमा उल्लेख भएको युवाका साथ साथ आवाज नेपालका संस्थापक दीपेश बिसुङ्खेले जानकारी दिनुभयो ।

सम्मेलनमा भक्तपुरका चारवटै नगरपालिकाबाट १५० भन्दा बढी युवाको सहभागिता रहेको संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाको सांसद महेश बस्नेतले रोजगारी माग्नेभन्दा आफँै उद्यमी बनेर रोजगारी दिने निकायका रुपमा युवा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

बस टायर चोर्ने पाँच पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न गाडीको टायर चोरी गर्ने गिरोहका पक्राउ परेका पाँच जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–९ पलासे स्थायी घर भई हाल काठमाडाँै–३२ जडीबुटी बस्ने ४२ वर्षीय मधु महत, मकवानपुर मनहरि गाउँपालिका–५ घर भई काठमाडौँ थानकोट बस्ने १८ वर्षीय सुनिल आले मगर, काभ्रे बेथानचोक गाउँपालिका घर भई हाल ललितपुर जाउलाखेल बस्ने २० वर्षीय गोविन्द तामाङ, रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल लगनखेल बस्ने २३ वर्षीय तीर्थ लुङ्गेली मगर र काभ्रे रोशी गाउँपालिका–८ बस्ने १९ वर्षीय सुरेश बोहरा रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताउनुभयो ।

चोरिएका टायर गाडीमा हालेर बिक्री गर्न लैजानका लागि प्रयोग गरिएको बा.२ख. ३७४७ नंको बससहित चोरिएका १३ थान टायरसमेत प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक श्रेष्ठले गत २२ गते भक्तपुर नगरपालिका–२ इँटापास्थित रोशन गाइजुको बडी बिल्डरको ग्यारेजमा बडी बनाउन राखेको नयाँ टायर हराएपछि आएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा गिरोह नै पक्राउ परेको उल्लेख गर्दै उक्त गिरोहले अन्य टायर पनि चोरी गरेको खुल्न आएकाले थप अनुसन्धान जारी रहेको बताउनुभयो ।

मदिरा नष्ट

महानगरीय प्रहरी परिसरअन्तर्गत रहेको विभिन्न वृत तथा प्रभागबाट पुस महीनाभरि बिक्रीका लागि लैजाँदै गरेको करीब एक हजार ५०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

सडकमा सवारी साधन चेकजाँचका क्रममा फेला परेको मदिरासहित मदिरा बनाउन प्रयोग गरिएका कच्चापदार्थ प्रहरीले नष्ट गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !