२७ पुस, नेपालगञ्ज । जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जडीबुटीको खेती पनि हुँदै आएको छ ।
सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ । प्राथमिकतामा राखिएकामध्ये १२ प्रजातिका जडीबुटीलाई प्रविधि विकासको माध्यमबाट व्यावसायिक खेतीका लागि सिफारिस गरिएको हो ।
बाँकेमा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिएको छ । खेतीका लागि तोकिएका क्षेत्रको आसपास पाइने रैथाने प्रजातिको जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ ।
बाँकेमा वन क्षेत्र बढी भएकाले व्यावसायिक जडीबुटी खेतीको प्रशस्त सम्भावना छ । जडीबुटीमा संलग्न हुन चाहने कृषकले स्पष्ट रुपमा व्यावसायिक योजना बनाउनुपर्छ । उत्पादन गरिएका जडीबुटी लामो समय भण्डारण र प्रयोग गर्न नसकिने भएकाले बजारको मागअनुसार उत्पादन गर्नुपर्ने वनस्पति उद्यान केन्द्र, बाँकेका प्रमुख सुनिलकुमार आचार्यको सुझाव छ । बाँकेमा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ ।
सरकारले लोपोन्मुख वनस्पति जडीबुटीको संरक्षण र संवद्र्वन तथा वनस्पतिको रासायनिक गुणको प्रतिफल स्थानीयस्तरमा पु¥याउने उद्देश्यले नेपालगञ्जमा वनस्पति अनुसन्धान केन्द्र स्थापना गरेको हो । केन्द्रले बाँकेमा जडीबुटी खेतीको संरक्षण र प्रवद्र्वन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरण सम्बन्धी कार्ययोजना अनुसार आप्mनो भूमिकालाई अघि बढाएको छ ।
बाँके जिल्लाको ढकेरीमा रहेको वनस्पति उद्यानमा वनस्पतीय जडीबुटीको बिरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धान समेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडीबुटीका बिरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी, बाँकेलगायत पश्चिम क्षेत्रका अन्य जिल्लामा उत्पादन गरिएका जडीबुटीको सङ्कलन र बिक्री नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमा आवद्ध व्यवसायीले गर्दै आएका छन् । सङ्घले सङ्कलन गरेको जडीबुटी भारत र तेस्रो मुलुकमा निकासी हुने गरेको सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो ।
नेपालमा करीब पाँच प्रतिशत जडीबुटी उत्पादन र गैह्रकाष्ठ वन पैदावार क्षेत्र रहेको । सुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी निकासी भइरहेकामा अहिले १५÷१६ वटा प्रजातिका जडीबुटी मात्र निकासी हुने गरेको छ । ‘‘भारतको उत्तर प्रदेश सरकारले नेपालबाट निकासी हुने जडीबुटीमा ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि निकासी घटेको हो’’, सङ्घका अध्यक्ष अन्सारी बताउनुहुन्छ ।
भारतको यही व्यवस्थाका कारण पछिल्लो समय बाँकेबाट जडीबुटी निकासी घटिरहेको छ । केही वर्षअघि यहाँबाट भण्डै ६५ लाख किलो जडीबुटी निकासी हुने गरेकोमा गत वर्षदेखि निकासीको मात्रा करीब ४५ लाख किलोमा झरेको छ । नेपाल सरकारले भारत सरकारको ‘ट्रान्जिट परमिट’सम्बन्धी व्यवस्थालाई हटाउन दुई पक्षीय छलफल गर्नुपर्ने सङ्घका अध्यक्ष अन्सारीको सुझाव छ । जडीबुटीको निकासी घट्दै गयो भने व्यावसायिक खेतीमा पनि यसले असर पु¥याउने सम्बद्ध बताउँछन् । (रासस)