७ मंसिर २०८१, शुक्रबार

घरबाटै पानी बोकेर तिर्खा मेट्छन् विद्यार्थी


विद्यालय

१८ पुस, जाजरकोट । छेडागाड नगरपालिका–५ वडावनको भाग्योदय माध्यमिक विद्यालयका अधिकांश विद्यार्थी पानी बोकेर विद्यालय जान बाध्य छन् ।

नामको मात्र भाग्योदय माविका आफूहरुलाई पढ्नेभन्दा पनि सास्ती बेहोर्नु परेको विद्यार्थीको दुःखेसो छ । कक्षामा बसेर पढ्नेभन्दा पनि कहिले बिदा होला भन्ने आशमा बस्नुपर्ने बाध्यता रहेको कक्षा ८ की छात्रा कृष्ण शाहीले बताए ।

कृष्ण जस्तै कक्षा ३ मा अध्ययनरत विकास शाहीलाई पनि विद्यालय आउन मन लाग्दैन । “स्कूल आउन मन नै लाग्दैन”, उनले भने, “स्कूल बसेर पढ्ने वातावरण नै छैन ।” कृष्ण र विकास जस्तै सो माविमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमा आउन दिक्क लाग्छ । दिनभर विद्यालयमा दिक्दारीका साथ बस्नुपर्ने तिनको गुनासो छ । विद्यालय भवनको अभावमा १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई छाप्रामा पढाउने गरिएको छ । छाप्रोभित्र भूइँमा बसेर पढ्नुपर्दा साह्रै गाह्रो भएको छात्रा कमला सिंहले बताउनुभयो ।

“आवश्यक फर्निचरका अभावमा ४ देखि १० कक्षासम्मका विद्यार्थीले पनि भूइँमै बसेर पढ्नुपरेको छ”, कक्षा १० की भावना शाहीले गुनासो गरे ।

घरबाटै पानी

विद्यालयमा खानेपानी नहुँदा घरबाट बोतलमा बोकेर ल्याइएको पानी पिउन विद्यार्थी बाध्य छन् । तिर्खा लागेको बेला घरबाट ल्याइएको पानी सकिएमा विद्यालय नजीकैको घर जाने गरेको विद्यार्थी बताउँछन् । “विद्यालयमा कार्यालय सहयोगीले गाग्रीमा बोकेर ल्याएको पानी शिक्षक र अन्य कर्मचारीलाई समेत अपुग हुन्छ”, विद्यालयका प्रधानाध्यापक शान्तबहादुर शाहीले भन्नुभयो, “विद्यार्थीका लागि खानेपानीको व्यवस्था विद्यालयले गर्न सकेको छैन ।” विद्यालयका समस्या र अभावका बारेमा सम्बन्धित निकायमा बारम्बार माग गरिएको जानकारी दिँदै प्रअ शाहीले भन्नुभयो, “समाधानका लागि कहीँकतैबाट पनि पहल भएको छैन ।”

पानीकै अभावमा सो विद्यालयमा शौचालयको पनि व्यवस्थापन हुनसकेको छैन । विद्यार्थी खुला आकाशमुनि शौच गर्न बाध्य छन् । “शौच गर्नका लागि विद्यार्थी कि त खोल्साखोल्सी खोज्दै हिँड्छन्, कि त खेत वा बारीको कान्लाले छलिन्छन्”, प्रअ शाहीले गुनासो गनुँभयो । स्मरणीय छ, जाजरकोट खुला दिसामुक्त घोषणा भइसकेको जिल्ला हो ।

कक्षा १० सम्म पढाइ हुने सो विद्यालय समस्याका चाङमा भने ‘भाग्यमानी’ नै छ । “विद्यालयमा समस्या र अभाव मात्रै छैन”, प्रअ शाहीले दिक्दारी शैलीमा भन्नुभयो, “शिक्षक दरबन्दी, भवन, फर्निचर, शौचालय र खानेपानी पनि यहाँको मुख्य समस्या हो ।”

नगरपालिकाको योजना

आवश्यक आधारभूत पूर्वाधारकै अभाव हुँदा विद्यालय सञ्चालन गर्न निकै कठिनाइ भएको छ । खानेपानी र भौतिक संरचनाको अभावका बीच चलेको विद्यालयमा गुणस्तरीय शिक्षाको कसरी आशा गर्न सकिन्छ भनी अभिभावक प्रश्न गर्छन् । छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महताराले भन्नुभयो, “विद्यालयको समस्या समाधानका लागि यस आर्थिक वर्षदेखि क्रमागत रुपमा रकम विनियोजन गरी शैक्षिक सुधार थालिने छ ।” यहाँका सबै विद्यालयमा उस्तै समस्या भए पनि प्राथमिकता निर्धारण गरी काम गर्नुपर्ने अवस्था रहेको नगर प्रमुख महताराको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !