१९ जेष्ठ २०८१, शनिबार

गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन : विज्ञ समूहद्वारा कार्यपत्र प्रस्तुत


Nepalpatra

१६ पुस, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९ ज्यामिरे गुफाडाँडामा आज आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा विभिन्न विज्ञ समूहले ११ कार्यपत्र प्रस्तुत गरेका छन् । मङ्गलबार समेत ११ कार्यपत्र प्रस्तुत गरिने छ ।

कार्यपत्रमाथि समूहगत छलफलपछि निश्र्कषसहित सम्मेलन सकिने जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासले जानकारी दिनभयो । आज जलवायु परिवर्तनको विविधतासम्बन्धी चार तथा जलवायु परिर्वतन र यसको प्रभाव सम्बन्धमा विज्ञले सात कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राष्ट्रिय जलवायु सम्मेलनको उदघाटन गर्नुभएको थियो । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब विद्यालय र क्याम्पसको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले जलवायु परिवर्तनको विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रष्ट धारणा राखिसकेको भन्दै प्राकृतिक सम्पदा दोहन गर्दा प्रकृति र संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

राष्ट्रपति भण्डारीले यस्ता सम्मेलनको निरन्तरताका लागि सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । आज जलवायु परिर्वतनको प्रतिमा अनावरणपश्चात् राष्ट्रपति भण्डारी तथा ७७ जिल्लाका प्रतिनिधिले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । जिल्ला समन्वय समिति महासङ्घको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोककोे व्यवस्थापनमा उक्त सम्मेलन आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तत्कालै कर्मचारी समायोजनलाई टुङ्गोमा पु¥याएर सङ्घीयता कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताउनुभयो । स्थानीय तहका गुनासालाई लामो समय नराखिने उहाँको भनाइ थियो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु सम्मेलन विद्यार्थीको सङ्घ संगठन जस्तो हुन नहुने बताउनुभयो ।

पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले सिन्धुपाल्चोकको धेरै प्राकृतिक स्रोत दोहन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै भविष्यमा यसले पार्ने असरका बारेमा समयमै सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नं ३ का उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दास, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल तथा व्यवस्थापन संयोजक कृष्णगोपाल तामाङलगायतले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । आजदेखि शुरु भएको उक्त सम्मेलन मङ्गलबार साझासिन्धु घोषणा पत्रजारी गर्दै सकिने आयोजकले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !