१३ आश्विन २०८१, आइतबार

घटेन अवैध नदीजन्य उत्खनन


Nepalpatra

१६ मङ्सिर, घोराही । यस आर्थिक वर्ष २०७५/७६ को साउन महीनादेखि यता जिल्ला समन्वय समितिको अगुवाइमा १५३ वटा सवारी साधन नदीजन्य पदार्थ अवैध उत्खनन गरेको आरोपमा नियन्त्रणमा लिइएको छ ।

समन्वय समितिका राजश्व शाखाका नायब सुब्बा जीवराज पौडेलका अनुसार साउनदेखि मङ्सिर पहिलो सातासम्म नियन्त्रणमा लिइएका १४४ ट्र्याक्टर, छ टिपर र तीन जेसिवीबाट जरिवाना असुल गरिसकेको छ ।

साधन तुलसीपुरको ग्वार खोला, देउखुरीको राप्ती नदी आसपास, घोराहीको कटुवा खोलालगायतका स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति दाङले नदीजन्य पदार्थको अवैध उत्खनन गरेको भन्दै गत आर्थिक वर्ष २०७४/७५मा वर्षमा पनि ३९९ वटा सवारी साधनलाई कारवाही गरेको थियो ।

नदीजन्य पदार्थ अवधै उत्खननलाई पूर्ण निरुत्साहित पार्ने भन्दै समितिले निरन्तर अनुगमनको क्रममा सवारी साधन धनीलाई कारवाही गरिएको थियो । नदीजन्य पदार्थको धेरै चोरी निकासी हुनुमा स्थानीय निकायले गरेको अलमल नै मुख्य कारण भएको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपाली नदीजन्य पदार्थ उत्खननको जिम्मा स्थानीय निकायलाई दिए पनि समयमा ठेक्का नखोल्दा अवैध चोरी निकासी बढेको बताउनुहुुन्छ । ‘‘धमाधम निर्माणका काम भइरहेका छन् । ढुङ्गा, गिट्टी, बालुवाको अत्यधिक माग छ, तर खोला सबै बन्द गरिएका छन्’’ उहाँले भन्नुभयो ।

स्थानीय निकायले प्रर्याप्त तयारी नगर्दा चोरी निकासी बढ्दै गएको छ । केही समय अगाडि मात्रै बबई गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका, घोराही र राप्तीका केही स्थानका खोलामा उत्खननको लागि ठेक्का शुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !