६ जेष्ठ २०८१, आइतबार

उपभोक्ता ठग्नेलाई कारवाही गरिँदै


Nepalpatra

६ मङ्सिर, काठमाडौँ । उपभोक्ताको अधिकारसम्बन्धी नयाँ कानून लागू भएसँगै उपभोक्ता ठग्ने व्यापारीलाई जरिवाना तोक्न आपूर्ति विभागले शुरु गरेको छ ।

गत कात्तिक २ गतेदेखि लागू भएको नयाँ कानूनअनुरुप वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिलेसम्ममा काठमाडौँ उपत्यकाको दश व्यापारीबाट जरिवाना असुल गरेको छ भने पाँच व्यापारीले गलत काम गरेको हो कि होइन भनी अनुसन्धानको प्रक्रियामा रहेको विभागले जानकारी दिएको छ ।

दश व्यापारीबाट नयाँ ऐनअनुरुप उपभोक्ता ठगी गर्ने र अखाद्य सामग्री बिक्री–वितरण गर्नेलाई रु पाँच हजारदेखि ५० हजारसम्म जरिवाना असुल गर्ने अधिकार दिएको छ । यसअघि अनुगमनका क्रममा विभागले कारवाहीका लागि अधिकार प्रयोग गर्न नपाइने भए पनि अहिले भने अनुगमन अधिकृतलाई अनुगमनका क्रममा कैफियत फेला परे तत्काल कारवाही गर्ने अधिकार दिइएको छ । अधिकारको सदुपयोग गर्दै पछिल्लो समय अनुगमन अधिकृतहरुले कारवाही प्रक्रिया शुरु गरेको बजार अनुगमन संयोजक रधुनाथ महतले राससलाई जानकारी दिनुभयो ।

“कानून कार्यान्वयन शुरुको अवस्थामा रहेकाले अनुगमनका क्रममा कैफियत देखिएका र जरिवाना असुल गरी तिर्नेहरुले पनि पाँच हजारसम्मको रकम भए दिएका छन् त्यसभन्दा माथिका रकम तिर्नका लागि आनाकाना गरिरहेका अवस्था छ” संयोजन महतले भन्नुभयो ।

सचेतना कार्यक्रम

उपभोक्ताको हित विपरीत काम गर्ने जो कोहीलाई कारवाही गर्नका लागि नयाँ कानून लागू भएको धेरै भएको छैन । कानूनका बारेमा जानकारी नहुँदा परम्परागत रुपमा नै किनबेच भइरहेको छ । न त उपभोक्तालाई थाहा छ, कानूनका बारेमा न त व्यापारीलाई नै यी दुवै पक्षलाई लक्षित गरी विभागले अबको केही दिनमा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । कानूनबारे जानकारी नहुँदा पनि ठगिने र ठग्ने प्रक्रिया जारी रहेको संयोजक महतको भनाइ छ ।

सचेतना कार्यक्रम काठमाडौँ उपत्यकाका जिल्लामा र बाहिरी जिल्लामा पनि सञ्चालन गरिनेछ । कानूनी रुपमा व्यापारीले खरीद गरेको मूल्यको २० प्रतिशत नाफा खान पाउने भए पनि अनुगमनका क्रममा ४५० देखि ५०० प्रतिशतसम्म नाफा खाने गरेको अनुगमनका क्रममा फेला परेको छ । यसरी तोकिएभन्दा बढी नाफा खानेमा उपत्यकाको व्यापारी र फर्मभन्दा पनि उपत्यकाबाहिरका जिल्ला धादिङ, चितवन, गोर्खा र तराई जिल्लाका व्यापारी रहेका छन् ।

विभागले उपत्यका र बाहिरका जिल्लामा अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा देखिएका कमजोरीलाई कारवाही गर्न लागि कानूनी दायरा अलि फराकिलो बनाएसँगै आगामी दिनमा अनुगमन प्रभावकारी हुने विश्वास विभागको छ । विभागले गत बिहीबार गरेको बजार अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत खाद्य सामग्री बिक्री–वितरण गरेकाको भन्दै दुई पसलबाट रु ५५ हजार जरिवाना असुल गरेको छ ।

बूढानीलकण्ठमा रहेको थापा श्री किराना स्टोर र स्टार मिट प्रोडक्ट प्रा लि, शोभाभगवतीबाट रु ५५ हजार जरिवाना असुल गरेको हो । थापा किराना स्टोरमा मूल्यसूची अपडेट नभएको, एक्सपायर जोन नभएको तथा फोहरको उचित व्यवस्थापन नगरेकाले रु पाँच हजार र स्टार मिट प्रोडक्ट प्रा लि, शोभाभगवतीले प्यान दर्ता नगरेको, खाद्य अनुज्ञापत्र नबनाएको, मूल्यसूची नभएको, ससेज उत्पादन स्थल अत्यन्त फोहोर भएकाले रु ५० हजार जरिवाना असुल गरिएको हो ।

साथै कारवाही प्रक्रिया पूरा नहुन्जेलसम्म दुवै पसललाई उत्पादन नगर्न पनि निर्देशन दिइएको छ । दुवै पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !