१० मंसिर २०८१, सोमबार

‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम : ३६० समिति निर्माण


Nepalpatra

२७ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकिएको बताउनुुहुन्छ । गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ ।

कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने गरी प्रहरीले काम गरिरहेको प्रवक्ता सुवेदीको भनाइ छ । विद्यालय सम्पर्क कार्यक्रम तथा समुदाय आधारित सचेतना कार्यक्रम शुरुआत् भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

“हरेक गाउँ र टोलमा समिति निर्माण गर्ने अवधारणामा स्थानीय जनसहभागिता उत्साहजनक पाइएको छ”, प्रवक्ता सुवेदीले भन्नुभयो । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत स्थानीय जनसमुदायको सहयोगमा केही फरार अपराधीसमेत नियन्त्रणमा लिइसकेको छ ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास लिएको प्रहरीले मङ्सिरसम्ममा सबै जिल्ला, पालिका, वडा, टोल र विद्यालयमा समिति निर्माण गरिसक्ने जनाएको छ ।

६२० स्थानीय तहसँग साझेदारी

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि प्रहरीले देशभरका ६२० स्थानीय तहसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । ७५३ स्थानीय तहसम्म कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि बढेको प्रहरीले अहिलेसम्म ६२० स्थानीय तहसँग समझदारी गरिसकेको हो । प्रहरीले सबै सामाजिक संस्था र विद्यालयसम्म उक्त कार्यक्रम लैजान सके १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक यो कार्यक्रममा प्रत्यक्ष संलग्न हुनेछन् ।

कार्यक्रमलाई सफल पार्न प्रहरीले पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर समाजमा हुने अपराधसम्बन्धी जानकारी गराउने, प्रशिक्षण दिने, सामुदायिक गस्ती गर्ने, अन्तक्र्रिया कार्यक्रम सञ्चालन तथा सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गर्नेछ । अपराध रोकथामका लागि विद्यालयसँग सहकार्य गरेर छुट्टै पाठ्यक्रम निर्माण गरेर लागू गर्ने गरी अगाडि बढेको छ ।

प्रहरीले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्न केही स्थानीय तह र सामाजिक सङ्घ संस्थाको सहयोगमा सिसीटिभी जडान कार्यसमेत शुरुआत् गरिसकेको प्रवक्ता सुवेदीले बताउनुभयो । “सिसीटिभीको जडानसँगै अपराध रोकथाममा सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ”, उहाँले भन्नुभयो । कार्यक्रम कार्यान्वयनमा आए समाजमा हुने अपराधमा ठूलो मात्रामा कमी आउने प्रहरीले विश्वास लिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !