७ मंसिर २०८१, शुक्रबार

प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने : मुख्यमन्त्री


Sherdhan Rai

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताउनुभएको छ ।

प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने जानकारी दिँदै फराकिलो र गुणस्तर सडक, मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार निर्देशनालयले जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिनुभयो ।

मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिने जानकारी दिनुभयो ।

निर्देशनालय उद्घाटनका अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलो सेवाप्राप्त गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रदेशका मुख्य सचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकारमुक्त नहुने बताउनुभयो ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र प्रदेश यातायात पूर्वाधार भौतिक मन्त्रालयका सचिव सागर राईले प्रदेशको २५० र सङ्घीय एक हजार योजनामा तयार भई प्रदेशभित्र निर्माण कार्य शुरु हुने जानकारी दिनुभयो ।

नव स्थापित निर्देशनालयले प्रदेशका १४ जिल्लामा सडक, मोटर सञ्चालन हुने पक्की पुल र झोलुङ्गे पुल निर्माणका लागि योजना स्वीकृत, बजेट निकासा, अनुगमन, निरीक्षण र नियमन आदि कार्य गर्नेछ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !