१५ जेष्ठ २०८१, मंगलबार

स्थायी राजधानीका लागि विराटनगर पूर्वाधारयुक्त शहर : मन्त्री पण्डित


Lalbabu Pandit

१६ असोज, विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं १ को स्थायी राजधानीका लागि विराटनगर भौतिक पूर्वाधारयुक्त शहर भएको बताउनुभएको छ ।

उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले स्थायी राजधानी निर्माणको अवधारणाबाट यस क्षेत्रमा विभिन्न कार्यालय, विकास आयोजनाका कार्यालय स्थापनालगायत विकास निर्माणका कार्य शुरु गरिएको छ भन्नुभयो ।

मन्त्री पण्डितले उच्च अदालत भएको स्थानमा स्थायी राजधानी तोक्ने व्यवस्था भएकाले भविष्यको राजधानी घोषणा हुने स्थानमा नै उच्च अदालत रहेको प्रष्ट पार्नुभयो । उहाँले राजनीतिक पार्टीका नेताहरुले आफ्नो क्षेत्रका जनताका लागि बोल्नुपर्ने हुनाले नै प्रदेशसभा, मन्त्रालय र राजधानी अलगअलग जिल्लामा राख्ने सम्बन्धमा चर्चा आएको प्रष्ट पार्नुभयो ।

मन्त्री पण्डितले निर्यातमुखी उद्योगको स्थापना गरी मुलुकको व्यापार घाटा न्यूनीकरणका लागि उद्योगीहरुलाई आग्रह गर्दै त्यस प्रकारका उद्योग स्थापनामा वर्तमान सरकार सहयोगीको भूमिका निभाउने प्रष्ट पार्नुभयो । उहाँले करको विषयमा कार्यदल बनाएर अध्ययन भइरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताउँदै दायराभन्दा बाहिर गएर कर असुल्ने विषयमा कडाइका साथ रोक लगाएको जानकारी दिनुभयो ।

मन्त्री पण्डितले विराटनगरको बुद्धनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी आगामी चारदेखि छ महिनाभित्रमा सञ्चालनमा आई यस क्षेत्रको आर्थिक विकासमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । छलफलमा स्थानीय उद्योगी व्यापारीहरुले विराटनगरलाई स्थायी राजधानी बनाउन आग्रह गरिएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !