९ मंसिर २०८१, आइतबार

राउटेले मनाए चौथो संविधान दिवस


surkhet

३ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन् ।

उनीहरुले खुलेरै आज संविधान दिवसको गुणगान गरे । विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको राजा मान्ने उनीहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै दिवस समारोहमा सामेल भए । दिवसमा उनीहरुले पैसरु नाच देखाए, अरूलाई आकर्षित गरे, प्रदेश प्रमुखसहित मन्त्री र सरकारका उच्च अधिकारीहरुलाई समेत मनोरञ्जन दिए ।

जङ्गलको बास छोडेर दैलेखेको गुराँस गाउँपालिका–८ झ्याजेस्थित बस्दै आएका राउटे दक्षिण एशियाको लोपोन्मुख जातिका रुपमा मानिन्छ । पछिल्लो समयको विकास र मानव चहलपहलका कारण राउटे रहनसहन र संस्कार छोडेर आधुनिक संस्कृति अँगाल्न थालेका छन् । यसबारेमा भने राउटेका मुखिया वीरबहादुर शाहीले जङ्गलमा आफ्नो सिकार सकिएकाले मान्छेको नजीक जान बाध्य भएको बताउनुभयो ।

“मान्छेले जुङ्गल मास्या (फँडानी गरे) । हाम्मो बास उठाया । सिकार नेठ्या (सके) । जङ्गलमा गुना बाँदर सकिदा मेरा जन्ता भोकै भया” मुखिया शाहीले दुःखेसो पोख्नुभयो, “हामी हाम्मै संस्कारमा रमाउन चाहान्छौँ ।” मुखिया शाहीले भन्नुभयो, “सरकारका ठूला मान्छेसँग संविधान दिवस मनाउन पाउँदा खुशी लाग्याछ । यहाँका जुन्तासँग दिवस मनाउन आया हौँ ।”

सफा कपडा लगाएको, पढेको, चिल्लो र फुर्तिलो दुनियाँभन्दा आफ्नो पहिचान माथि रहेको उहाँले दाबी गर्नुभयो । राउटे संस्कार, पहिचान र रहनसहन फेरबदल हुनुले अस्तित्व सङ्कटमा पर्ने चिन्ता रहेको मुखिया शाहीको भनाइ थियो । सामाजिक समन्वय केन्द्र (सोसेक)ले उनीहरुलाई गुराँस गाउँपालिकासँगको समन्वयमा दिवसमा सहभागी गराएको थियो ।

दिवस समारोहमा कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले राउटे, कुसुण्डा जातिको हितमा सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गुराँस गाउँपालिका दैलेखले पछिल्लो समयमा राउटेलाई राज्यको मूल प्रवाहमा ल्याउन परिचयपत्र उपलब्ध गराएको भन्दै धन्यवादज्ञापन गर्नुभयो ।

प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जाति, भाषा र विविधतायुक्त भूगोलको कर्णाली प्रदेश विकासमा सरकार लागिपरेको बताउनुभयो । “दक्षिण एशियाको लोपोन्मुख राउटे जाति र सडक मार्गविहीन टोपी खस्ने उकालोमा घण्टौँ भारी बोक्ने मान्छे कर्णाली प्रदेशमा छन्,” उहाँले भन्नुभयो, “तिनको न्यायका खातिर प्रदेश सरकार योजना बनाएर अघि बढिरहेको छ ।”

कार्यक्रममा प्रदेश उपसभामुख पुष्पा घर्ती, सामजिक विकासमन्त्री दल रावल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रदेशसभा सदस्यहरु, न्यायलयका प्रमुख, सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुख, नागरिक समाज र साहित्य कलालगायत विभिन्न क्षेत्रका व्यक्तित्व र नागरिक तथा समुदायको सहभागिता रहेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !