६ जेष्ठ २०८१, आइतबार

नेपालको शान्तिप्रक्रिया विश्वकै उदाहरणीय


nandabahadur

२६ भदौ, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय नमूना भएको बताउनुभएको छ ।

उपराष्ट्रपति कार्यालय बहादुरभवनमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज भएको शिष्टाचार भेटमा उहाँले नेपालले आफ्नै मौलिकतामा शान्तिप्रक्रिया सम्पन्न जानकारी गराउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

“नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय छ, द्वन्द्वरत मुलुकले नेपालको शान्तिप्रक्रियाबाट सिक्न सक्छन्,” उहाँले भन्नुभयो, “अफगानिस्तानमा शान्तिप्रक्रिया प्रारम्भ भएको थाहा पाउँदा खुशी लाग्यो, नेपालबाट धेरै विषय सिक्न सकिन्छ ।”

उपराष्ट्रपतिले स्थायी शान्तिका लागि द्वन्द्वरत दुवै पक्ष उत्तिकै गम्भीर र जिम्मेवार हुनुपर्ने बताउनुभयो । “यो एउटा लेनदेनको प्रक्रिया पनि हो । लिने र दिने दुवैले ध्यान दिनपर्छ कि हाम्रो मध्यविन्दु कहाँ हो । मध्य विन्दु पत्ता लाग्यो भने शान्तिप्रक्रिया अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “दुवै पक्ष आ–आफ्नो अडानमा रह्यो भने शान्ति प्रक्रिया अगाडि बढ्न सक्दैन ।”

उपराष्ट्रपतिले अफगानिस्तानलाई शान्तिप्रक्रिया आफ्नो मौलिकतामा अगाडि बढाउन सुझाव दिनुभयो । “शान्तिप्रक्रियाका लागि विभिन्न अनुभव छन् । तर मलाई लाग्छ अफगानिस्तानले आफ्नो मौलिकता रोज्नुपर्दछ”, उहाँले भन्नुभयो, “नेपालबाट केही सिक्न सक्नुहुन्छ, तर प्रमुख कुरा त्यो होइन । यदि सहयोगको आवश्यक पर्छ भने हामी तयार छौँ ।” उहाँले शान्तिप्रक्रिया सफलताको शुभकामना पनि दिनुभयो ।

भेटमा अफगानिस्तान उच्च शान्ति परिषद्का नेतृत्व गर्नुभएकी पूर्वमन्त्री डा हबिबा साराबीले आफ्नो देश शान्तिप्रक्रियामा अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको शान्तिप्रक्रियाबाट सिक्नका लागि आफूहरु नेपाल भ्रमणमा आएको बताउनुभयो ।

“हामी शान्तिप्रक्रियामा छौँ । नेपालको शान्तिप्रक्रियाको अध्ययन गर्ने क्रममा शान्तिप्रक्रियाका महत्वपूर्ण व्यक्तित्व उपराष्ट्रपतिसँग भेटमा धेरै कुरा सिक्न पाउँदा खुशी छौँ”, पूर्वमन्त्री साराबीले भन्नुभयो, “नेपालको शान्तिप्रक्रिया साँच्चिकै विश्वका लागि उदाहरणीय रहेछ ।” अफगानिस्तानमा शान्तिप्रक्रियाको लागि उच्च शान्ति परिषद्ले काम गर्दै आएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !