६ जेष्ठ २०८१, आइतबार

भारतको धौलीगङ्गाको बाँध खोलिँदै


dhouliganga jalavidhut

२८ साउन, बैतडी । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित गरेर सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।

पछिल्लो समय बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । केहीदिन पहिले दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरुको बैठकमा बाँधको पानी छाड्ने समयबारे सूचना आदानप्रदान गर्ने सहमति भएको थियो । यस वर्षमात्रै धौलीगङ्गाको बाँध चारपटक खोलिएको छ ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको क्षमता २८० मेगावाट रहेको छ । यसअघि सो परियोजनाको छिरकिल्ला बाँधमा पानीको मात्रा बढेपछि गत साउन १२ गते पनि बाँधको ढोका खोलिएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !