९ जेष्ठ २०८१, बुधबार

प्याराग्लाइडिङ टोली इण्डोनेसिया प्रस्थान


Paragliding

२४ साउन, काठमाडौं । आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा आयोजना हुने १८औँ एसियाडमा सहभागी हुने नेपाली प्याराग्लाइडिङ टोली बुधबार त्यसतर्फ गएको छ ।

नेपाली प्याराग्लाइडिङ टिममा रहेका सबै खेलाडी कास्कीका हुन् । एसियाडमा प्रतिस्पर्धा गर्ने खेलाडीमा विमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ र विजय गौतम, त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ छन् ।

पाँच पुरुष र तीन महिला खेलाडी गरी आठ खेलाडीले एसियाडका लागि पोखरामा तयारी गरेका थिए । नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टाछुट्टै पदकमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई बुधबार यहाँ आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गर्नुभयो ।

नेपाल प्याराग्लाइडिङको विश्व बरियतामा सातौँ स्थानमा छ । नेपालले यसअघि इण्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल भएको थियो । यस्तै नेपालका छ खेलाडी विश्व बरियतामा उत्कृष्ट १० भित्र रहेका छन् । प्याराग्लाइडिङको प्रतिस्पर्धा भदौ २ देखि १४ गतेसम्म हुनेछ । प्रतियोगितामा १९ देशका १३० खेलाडीले भाग लिँदैछन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !