९ आश्विन २०८१, बुधबार

चर्को पार्किङ शुल्क विवाद


Nepalpatra

४ साउन, भीमदत्तनगर । भीमदत्त नगरपालिकाले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् ।

स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज बिहानबाट कर संकलनको जिम्मा पाएका निर्माण व्यवसायी समस्यामा परेका छन् ।

चालू आर्थिक वर्ष २०७५÷७६ का लागि विदेशी सवारी साधनबाट कर संकलन गर्न बालाजी पवनदीप निर्माण सेवाले ठेक्का पाएको थियो । सो निर्माण सेवाका सञ्चालक लीलाधर भट्टले वार्षिक करसहित रु ३७ लाख ११ हजार नगरपालिकालाई तिर्ने गरी ठेक्का आफूले लिएको बताउनुभयो ।

भारतीय सवारी साधन नेपालतर्फ नआएपछि कर संकलन प्रभावित बनेको छ । विदेशी बस÷ट्रक पार्किङवापत रु ४२५, कार÷जीपबाट रु १४२, म्याजिकबाट रु ७१ तथा अटो÷टेम्पोबाट रु ३५ पार्किङ शुल्क लिने गरेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार विगतमा द्वन्द्वका बेलादेखि नै गड्डाचौकीमा कर संकलन गरिँदैआएको छ । “शुल्क संकलन गर्न थालेको १० वर्ष भइसक्यो,” निर्माण व्यवसायी भट्टले भन्नुभयो, “चालू आवमा शुल्कमा वृद्धि भएको छ ।”

भारतीय नम्बर प्लेटका सवारी साधनलाई महेन्द्रनगरसम्म चलाउने अनुमति दिन कञ्चनपुर भन्सारले सुविधा काटने गरेपनि यहाँ पार्किङको भने सुविधा छैन । सडक कर वृद्धि गरेको भन्दै भीमदत्तनगरमा पनि विगत तीन दिनदेखि अटो रिक्सा मजदूर आन्दोलनमा छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !