काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबारसम्म थुनामै रहने भएका छन् । विशेष अदालतमा आज शुक्रबार उनको बयान भएकोमा थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठेपछि सुनुवाइ स्थगित भएको हो ।
सुनुवाइ स्थगित भएपछि इजलासले मुद्दालाई आइतबार पेश गर्न आदेश दिएको छ । त्यतिन्जेलसम्म उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै जिम्मा लगाइएको हो ।
अख्तियारले उनलाई बुधबार पक्राउ गरेको थियो । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ ।












