काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङ र बञ्चरेडाँडाका स्थानीयबीच काठमाडौं उपत्यकाको फोहोर फाल्न १५ दिनको मौखिक सहमति जुटेको छ । आज बञ्चरेडाँडा ल्यान्डफिल साइटमा मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा गर्ने कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।
चार दिनदेखि आन्दोलनरत पीडित स्थानीयले अनिश्चितकालका लागि फोहोर फाल्न रोक लगाएका थिए । त्यसपछि सूचना जारी गर्दै घरबाट फोहोर ननिकाल्न अनुरोध गरिएको थियो । काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट आजदेखि खुलेको हो ।
कुलमान घिसिङ सहित आज बिहानै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए ।
ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए । शुक्रबार सहरी विकास मन्त्रालयमा छलफल भएपनि निष्कर्ष विहीन हुन पुगेको थियो ।
काठमाडौँ महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ । ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका, धादिङको धुनवेशी नगरपालिकाका स्थानीय प्रभावित हुँदै आएका छन् ।












