६ जेष्ठ २०८१, आइतबार

राष्ट्रसंघीय समितिमा नेपालकी बन्दना राणा निर्वाचित


bandana-rana

असार ८, २०७३

लामो समयदेखि नेपालमा महिला अधिकारका लागि कार्यरत अधिकारकर्मी तथा संचारकर्मी वन्दना राणा संयुक्त राष्ट्र संघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी समिति (सिड कमिटी) मा निर्वाचित हुनुभएको छ । राष्ट्रसंघको यो कमिटिको सदस्यमा चयन हुने राणा पहिलो नेपाली बन्नु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको कमिटिको १९ औं बैठकले विभिन्न २४ देशका महिला उम्मेदवारीहरुमध्ये ११ सदस्य रहने उक्त समितिमा उनी छैटौ नम्बरमा परेकी हुन् । निर्वाचनमा राणा १०६  मत पाएर विजयी भएकी हुन् ।

उनी ३ वर्षे कार्यकालका लागि छनौट भएकी हुन् । उनी सन् २०१७ देखि २०२० सम्म समिति सदस्य रहेने छिन् । उक्त समिति महिला विभेद अन्त्यको लागि काम गर्ने महत्वपूर्ण ठाउँ हो। नेपाल सरकारले समितिमा सदस्य बन्न उनको नाम सिफारिस गरेको थियो । यो विभेद अन्त्यको लागि सक्रिय रहन भन्दै सरकारले राणालाई १० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । परराष्ट्र मन्त्रालय र नियोगले उनलाई जिताउन लबिङ गरेको थियो । यसअघि पनि नेपालले सपना मल्ल प्रधानलाई समिति सदस्यको लागि सिफारिस गरेको थियो । तर प्रधान विजयी हुन सकिनन् ।

केही समयअघि मात्र नेपाल संयुक्त राष्ट्रसंघीय ७१ औं महासभाको उपाध्यक्षमा एक वर्षका लागि निर्वाचित भएको थियो । अधिकारकर्मी राणाले विगतमा नेपाल टेलिभिजनमा लामो समय समाचार वाचिकाका रूपमा काम गरेकी थिइन् । त्यस्तै गैरसरकारी संस्थामा रही महिला अधिकारका पक्षमा निरन्तर काम गर्दै आएकी छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !