११ पुस २०८१, बिहीबार

सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव


प्रदीप यादव

झापा । खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन् । झापा जिल्लाका विभिन्न स्थानहरूमा निर्माणाधीन खानेपानी परियोजनाहरूको स्थलगत अनुगमन गर्दै, निर्माण कार्यको प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिने क्रममा सो कुरा बताएका हुन् ।

मन्त्री यादवले झापाको मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायहरूलाई निर्माण कार्य समयमै सम्पन्न गर्न कडा निर्देशन दिए । उनले उपभोक्ताहरूलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माण कार्यमा तीव्रता ल्याउन जोड दिए ।

यस्तै सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्री यादवले स्थानीय स्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना, र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

‘सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ,’ उनले भने ।

मन्त्री यादवले झापाको मेचीनगरमा चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभिट्टास्थित काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गरे । उनले स्थानीय तहमा भएका सकारात्मक कार्यहरूको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारमा देखिएका चुनौतीहरू समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

मन्त्री यादवले झापामा निर्माण भइरहेको दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको पनि अवलोकन गरे । उनका अनुसार, परियोजनाहरूले झापा र आसपासका क्षेत्रका नागरिकहरूलाई स्वच्छता र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन् ।

उनले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधानका लागि सरकार सक्रिय रहेको र व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारी लिन आफू कटिबद्ध रहेको बताए । मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज पानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँग सहकार्यलाई सुदृढ गर्ने धारणा राखे ।

उनले भने, “नेपाल सरकार नागरिकको जीवनस्तर उकास्न खानेपानी र सरसफाइ सेवा सुधार्न दृढ छ । स्रोतसाधन परिचालन गरी समयमा निर्माणाधीन परियोजना सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।”

झापाका उपभोक्ता संस्थाहरूका पदाधिकारीले मन्त्री यादवको सक्रियतालाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै जिल्लामा निर्माणाधीन खानेपानी परियोजनालाई समयमा सम्पन्न गर्न ऊर्जा थपेको प्रतिक्रिया दिएका थिए । मन्त्री यादवको भ्रमण पश्चात् स्थानीय नागरिकले स्थायी र गुणस्तरीय खानेपानी सेवा प्राप्त हुने आशा व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !