५ जेष्ठ २०८१, शनिबार

रागोँ नियन्त्रणमा लिन पर्यो हम्मेहम्मे (फोटोसहित)


bull

असार ९, २०७३- बिहीबार दिउसो राजधानीको सहिदगेट क्षेत्र अनियन्त्रीत राँगोका कारण आतंकित बन्यो । करिब १ बजे एउटा छाडा राँगो त्रिपुरेश्वरबाट मच्चिदै सडकै-सडक सुन्धारातर्फ दौडियो । बलिष्ठ राँगो अनियन्त्रित तवरले भाग्दै आएको देखेपछि पैदलयात्रीको भागदौड सुरु भयो । खुला राँगोले बटुवालाई हिर्काउँदै दौडन थालेपछि त्यस क्षेत्रको सवारी आवागमन पनि केही बेर अवरुद्ध भयो ।

 
bull

अनियन्त्रीत रुपमा मान्छे हिर्काउँदै हिँडेको राँगालाई नियन्त्रणमा लिन महानगरपालिकाका कर्मचारीलाई निकै हम्मेहम्मे परेको थियो ।राँगो आतंकले शहीदगेट आसपास सवारी जाम भयो । एकाएक सवारीसाधनहरु रोकिए । मोटरसाइकल नै छोडेर चालकहरु भाग्न थाले । भागाभागमा परेर केही यात्रु लडे र सामान्य घाइते भए । शहीदगेटसम्म आइपुग्दा राँगोले झण्डै ६ जनालाई हानेर घाइते बनाइसकेको थियो । प्रहरीका अनुसार एक महिलालाई राँगोले हानेर सख्त घाइते बनाएको छ । उनलाई बटुवाहरुले उद्धार गरेर अस्पताल पठाएका छन् ।

 
bull

 

धेरैजनाको संयुक्त प्रयास पछि राँगो लाई नियन्त्रणमा लिन महानगरीय प्रहरी परिसर अन्तरगतको जनसेवा प्रहरी र नगर प्रहरीको टोलीले बल्ल-तल्ल घेरा हालेर राँगो नियन्त्रणमा लिए । त्यसका लागि ठूलै मेहनत गर्नु परेको असइ राधेश्याम डिसीले जानकारी दिए । हेलमेट लगाएका एक व्यक्तिले रातो कपडा देखाउँदै भैंसीलाई समात्न सहयोग गरेका थिए ।

 
bull

 

सुरुमा राँगोलाई समातेर सहिद गेटस्थित यात्रु प्रतिक्षालयमा बाँधिएको थियो । अहिले राँगोलाई टुँडीखेलमा लगेर बाँधेर राखिएको छ । नगर प्रहरीले त्यसलाई निगरानीमा राखेका छन् ।

अहिलेसम्म राँगो हराएको भन्दै प्रहरीकोमा कोही आएको छैन । तर, एकजना पीडित भने आफ्नो बिग्रिएको मोटरसाइकल र खुट्टामा लागेको चोट लिएर टुँडीखेलमै छन् । उनी क्षतिपूर्तिका लागि राँगो मालिकको प्रतिक्षामा छन् । धेरै घाइतेहरु वीर अस्पतालमा उपचार गराएर फर्किसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !