१५ आश्विन २०८१, मंगलबार

बाटो भासिएर अवरुद्ध दाउन्नेको सडक एकतर्फी खुल्यो


दाउन्नेको सडक एकतर्फी खुल्यो

नवलपरासी । अविरल वर्षाका कारण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा बाटो भासिएपछि पूर्ण रुपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग आज विहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।

पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्डको दाउन्नेमा सडक अनुमानित डेढ फिट भासिएपछि हिजो साँझदेखि यातायात अवरुद्ध भएको थियो । दुईतर्फी बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार अवरुद्ध सडक खुलाउन रातिदेखि प्रयास गरिएको र अहिले विहान ९ बजेबाट एकतर्फी खुलेको हो ।

सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेनेको भन्दै यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको थियो ।

सडक भासिएको ठाउँमा माटो र गिटी भरेर बेस तयार गरी सडक संचालन गरिएको हो । बाटो दुईतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको र आजै बाटो दुई तर्फीनै सञ्चालनमा आउने बोहोराले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !