१३ आश्विन २०८१, आइतबार

झ्याप्ले खोला पहिरो अपडेट : मृतकको सङ्ख्या ३५ जना पुग्यो


झ्याप्ले खोला पहिरो

मलेखु, धादिङ । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ ।

शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाको उद्धार कार्य जारी छ । प्रहरीका अनुसार पहिरोमा ना४ख २२७० नम्बरको बस, बा२ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस) फेला परेको छ ।

लु१ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर म्यान) शनिबार फेला परेको थियो । अझै अन्य सवारी पनि भेटिनसक्ने आशङ्कामा अहिले पनि उद्धार जारी रहेको प्रहरीको भनाइ छ ।

पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा क्षेत्र पहिरो र लेदोले तनावग्रस्त छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !