काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा हद तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्ध अन्तरिम आदेश दिएको हो ।
प्रहरी महाशाखामा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ईश्वर श्रेष्ठसहित २१ जनाले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
आज बिहीबार सर्वोच्चले यो रिटमा कारण देखाऊ आदेशसमेत दिएको हो । सर्वोच्चको यो अन्तरिम आदेशपछि यही १५ भदौमा अनिवार्य अवकाशमा जान लागेका प्रहरी अधिकारी अनिवार्य अवकाशमा नजाने भएका छन् ।
२०५१ भदौ १६ मा नेपाल प्रहरी सेवामा प्रवेश गरेकाहरू यही १५ भदौमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै थिए । अब उनीहरू उमेर हदअनुसार अवकाशमा जाने बाटो खुलेको हो ।
उनीहरू यस मुद्दाको अन्तिम फैसला नहुँदासम्म नेपाल प्रहरीको सेवामा रहनेछन् । त्यसबाहेक ३० वर्षे सेवा अवधिका आधारमा केही समयभित्रै अवकाशमा जान लागेकाहरू पनि सेवामा कायम रहनेछन् ।