२० असार २०८१, बिहिबार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


सर्वाेच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज रिटमाथिको सुनुवाइ गर्दै सरकारका नाममा उक्त आदेश जारी गरेको हो । सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । सोही नियुक्तिका लागि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने समितिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सरकारले उक्त प्रक्रिया रद्द गरी पुरानै सदस्यहरु रहने गरी अध्यक्ष नियुक्तिका लागि नयाँ समिति समेत गठन गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !